नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्षबिचको विवाद झन् जटिल बन्दै गएको छ। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि दुवै पक्षबिच असहमति चुलिएको हो। विशेष महाधिवेशनमा देउवा र शेखर समूह अनुपस्थित रहेपछि नेतृत्वको वैधता, संगठनात्मक संरचना र आगामी महाधिवेशनको तयारीलाई लिएर मतभेद बढ्दै गएको छ।
संस्थापन पक्षले आगामी असोजमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित तयारी अघि बढाएको छ। यता, इतर पक्षले भने यही २९ साउनमा राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्दै आफ्ना मागलाई थप सशक्त रूपमा उठाउने संकेत दिएको छ।
इतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा समायोजन गरी १५औँ महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने माग राखेको छ। साथै, गत पुससम्म नवीकरण गरिएका सबै क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने अडान पनि दोहोर्याएको छ।
संस्थापन पक्ष भने क्रियाशील सदस्यताको विषयमा केही लचिलो बन्न सकिने संकेत दिए पनि निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको एकमुस्ट समायोजन पार्टी विधानविपरीत हुने दाबी गर्दै आएको छ।
दुवै पक्ष आफ्नो-आफ्नो अडानमा कायम रहेकाले कांग्रेसभित्रको आन्तरिक विवाद तत्काल समाधान हुने सम्भावना कमजोर देखिएको छ।