‘सातौँ कास्की आदर्श वाइवाइ कप’को उपाधि प्रदेशी हातेमालोलाई

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

कास्की आदर्श समाज युएईले आयोजना गरेको ‘सातौँ कास्की आदर्श वाइवाइ कप’को उपाधि प्रदेशी हातेमालो निलो समूहले हात पार्न सफल भएको छ। स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ दुबईमा रहेको स्पार्ट स्पोर्टस् एकेडेमीको खेल मैदानमा २ अगस्टमा आयोजना गरिएको उक्त प्रतियोगितामा युएईमा रहेको १६ नेपाली भलिबल समूहको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपविजेता रुपन्देही बुटवल भलिबल समूहले प्राप्त गरेको छ  भने सान्त्वना कास्की आदर्श समाज युएई र तनहुँ सेवा समाज युएईको समूहले हात पारेको छ। प्रथम उपाधि हासिल गर्ने समूहले युएई दिराम पाँच हजार (करिब दुई लाख नेपाली रुपैयाँ), मेडल र ट्रफी, उपविजेता समूहलाई तीन हजार युएई दिराम (करिब एक लाख २० हजार नेपाली रुपैयाँ) मेडल र ट्रफी, र सान्त्वना समूहलाई आठ सय युएई दिराम (करिब ३२ हजार नेपाली रुपैयाँ) मेडल र ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेशी हातेमालोका मनीष मानन्धरलाई प्रदान गरिएको थियो । कार्यक्रममा भलिबलका पूर्वराष्ट्रिय खेलाडी ईश्वर हमाललाई सम्मान गरिएको थियो ।

प्रतियोगिता आयोजनाबाट बचत भएको रकम युएईमा रहेका कास्केलीहरूलाई समस्या पर्दा राहत तथा उद्धारमा खर्चिने कास्की आदर्श समाज युएईका महासचिव बुद्धि रानाभाटले नयाँ पत्रिकालाई बताए ।
 

सुझावित समाचार