बर्दियामा रहेको बबई सिँचाइ आयोजनाअन्तर्गत सञ्चालित आयोजनास्थल सूचना पार्टी राखिएको छैन। आयोजना स्थलमा अनिवार्य सूचनापार्टी राख्नुपर्ने कानुनी व्यवस्था भए पनि बबई सिँचाइ आयोजनाअन्तर्गत सञ्चालित आयोजना स्थलहरूमा सूचना पार्टी नराखिएको हो।
बबई सिँचाइ आयोजनाअन्तर्गत २१ स्थानमा नहर तथा तटबन्ध निर्माणको काम भइरहेको छ। गुलरिया, बारबर्दिया, मधुवन, ठाकुरबाबा, बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँपालिकामा निर्माण कार्य भइरहे पनि अधिकांश निर्माणस्थलमा सूचनापाटी राखिएको छैन।
सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार निर्माणस्थलमा सबैले देख्न सक्ने स्थानमा सूचनापाटी राख्नुपर्ने व्यवस्था छ। सूचनापाटीमा योजनाको नाम, आयोजना रहेको स्थान, ठेक्का नम्बर, निर्माण व्यवसायीको नाम, सम्झौता रकम, सम्झौता मिति, योजना सम्पन्न हुने मिति तथा आयोजना सञ्चालन गर्ने कार्यालयको विवरण उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, बबई सिँचाइ आयोजनाअन्तर्गत सञ्चालित निर्माण स्थलमा उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएको देखिँदैन।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार आयोजनास्थलमा भइरहेको कामको अनुगमन तथा तोकिएको समयभित्र सम्पन्न गराउने जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखको हुन्छ। त्यस्तै, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ ले कार्यालय वा मातहतका आयोजनामा प्रचलित कानुन, नेपाल सरकारको नीति, कार्यक्रम वा निर्णयविपरीत कुनै कार्य भइरहेको जानकारी प्राप्त भएमा वा निरीक्षणका क्रममा देखिएमा त्यसलाई तत्काल सुधार गर्नुपर्ने दायित्व कार्यालय प्रमुखको हुने व्यवस्था गरेको छ।
बबई सिँचाइ आयोजनाका सिडिई तथा सूचना अधिकारी शेखरनाथ न्यौपानेले केही निर्माणस्थलमा सूचनापाटी राखिएको दाबी गरे। उनका अनुसार, 'आयोजनास्थलमा सूचनापाटी राखिएको थियो। तर, साना बालबालिकाले च्यातिदिने भएकाले कतिपय स्थानमा नदेखिएको हुन सक्छ।'
उनले सूचनापाटी नभएका निर्माणस्थलमा सम्बन्धित निर्माण व्यवसायीमार्फत तत्काल सूचनापाटी राख्न लगाइने बताए।
निर्माणस्थलमा आवश्यक सूचना सार्वजनिक नहुँदा स्थानीय बासिन्दाले योजनाको लागत, निर्माण अवधि, ठेकेदार र जिम्मेवार निकायबारे जानकारी पाउन सकेका छैनन् ।