धनगढी उपमहानगरपालिकाले प्रदान गर्दै आएको सेवालाई अनलाइन प्रविधिबाट दिन सुरु गरेको छ। कार्यालयका कामकाज सेवाग्राहीमैत्री, छरितो र पारदर्शी बनाउने उद्देश्यले उपमहानगरले ‘पेपरलेस धनगढी’को सुरुवात गरेको हो।
अनलाइनमा आवश्यक विवरण भर्नुका साथै कागजातहरू अपलोड गरेर सेवाहरू अनलाइनबाटै लिन सकिने उपमहानगरको सञ्चार तथा सूचना प्रविधि शाखाका प्रमुख इन्जिनियर अनुप भट्टले जानकारी दिए। त्यसका लागि एकीकृत डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको उनले बताए।
सेवाग्राहीले यो प्रणालीमा व्यक्तिगत विवरण भर्नुका साथै आफूले चाहेको सेवा लिन आवश्यक कागजात ‘अपलोड’ गरी घरमै बसेर सेवा लिन सक्ने इन्जिनियर भट्टले बताए। ‘कार्यालयमा आएर कागजात बुझाउने झन्झट अब रहेन। सेवाग्राहीले अनलाइन प्रविधिमार्फत घरमै सेवा लिन सक्छन्,’ उनले भने, ‘यो सेवाको सुरुवातले सेवाग्राही कार्यालयमा आएर सेवा लिन कोठाकोठा धाइरहनुपर्ने बाध्यता हट्छ।’
प्रविधिबारे जानकारी नभएका सेवाग्राहीलाई सहयोग गर्न उपमहानगर तथा वडा कार्यालयमा सहायता कक्ष स्थापना गरिने भट्टले जानकारी दिए। धनगढीले सोमबार पत्रकार सम्मेलन गरेर सेवा सुरु गरिएको जानकारी दिएको छ। अनलाइनबाट सेवा लिन नसक्ने सेवाग्राहीले आवश्यक कागजात लिएर गए सहायता कक्षका कर्मचारीले अनलाइन सेवा लिन सहयोग गर्ने उपमहानगरले जनाएको छ।
नगर प्रमुख गोपाल हमालले परम्परागत र अनलाइन दुवै प्रणालीबाट सेवा दिइने बताए। उनले अनलाइन प्रविधिबारे सबै सेवाग्राहीमा जानकारी नहुने भएकाले पूर्ण रूपमा अनलाइन प्रविधिमा जान समय लाग्ने बताए। ‘अहिलेको पुस्ता र पुरानो पुस्तालाई ध्यानमा राखेर परम्परागत र आधुनिक प्रविधि दुवै प्रणालीबाट सेवा दिन्छौँ,’ हमालले भने, ‘अनलाइन प्रणालीले उपमहानगरको सेवाप्रवाह छिटो र पारदर्शी हुने अपेक्षा गरेका छौँ।’