सल्यानमा ‘क्लिक सल्यान’ फोटो वाक अभियान सुरु

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

जिल्लाका पर्यटकीय गन्तव्यलाई तस्बिरमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ सल्यानमा ‘क्लिक सल्यान’ फोटो वाक अभियान सुरु भएको छ । 

प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेका सल्यानका पर्यटकीय स्थललाई फोटो पत्रकारितामार्फत उजागर गर्ने उद्देश्यले अभियान सुरु गरिएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जनाएको छ । 

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष अमृतबाबु बुढाथोकीले तस्बिरको माध्यमबाट जिल्लाको पर्यटन सम्भावनालाई व्यापक रूपमा चिनाउने लक्ष्यका साथ फोटो वाक कार्यक्रमको सुरुवात गरिएको बताए । उनले भने ‘तस्बिरमार्फत सल्यानका पयर्टकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले ‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रम सुरु गरेका हौँ ।  यो अभियानलाई निरन्तरता दिँदै जिल्लाका अन्य पयर्टकीय स्थलमा पुगेर यस्ता कार्यक्रम सञ्चालन गर्ने हाम्रो योजना छ ।’

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले जिल्लाको पर्यटन क्षेत्रको प्रचार–प्रसारका लागि सुरु गरिएको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

फोटो पत्रकारहरूले क्यामेरामार्फत पर्यटनको सम्भावना उजागर गर्ने यो अभियान निकै सकारात्मक छ । ‘क्लिक सल्यान’ कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न सके सल्यानका पयर्टकीय गन्तव्य राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने यसले जिल्लाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास लिएको बताए । 

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले आगामी दिनमा कुपिन्डे ताल, कपुरकोट, दार्मा, छत्रेश्वरी, त्रिवेणी, बागचौरलगायत जिल्लाका अन्य पर्यटकीय तथा धार्मिक महत्त्वका स्थलमा पनि अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

सुझावित समाचार