मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुल क्षेत्रमा सोमबार माथिबाट पहिरो खसेपछि एकतर्फी अवरुद्ध बनेको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो १ बजेपछि सडकखण्डमा अहिले दुवैतर्फबाट सवारीसाधन सञ्चालन भइरहेको छ ।
मनसुन सक्रिय रहेकाले मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरोको जोखिम भने अझै कायम रहेको सडक डिभिजनले जनाएको छ । निरन्तर वर्षाका कारण माथिबाट ढुंगा तथा लेदो खस्ने सम्भावना रहेकाले यात्रु तथा चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।
सडक डिभिजन कार्यालयले पहिरो प्रभावित तथा जोखिमयुक्त स्थानहरूमा आवश्यक मेसिन तथा जनशक्ति तयारी अवस्थामा राखिएको जनाएको छ । वर्षायामभर सडक अवरुद्ध भए तत्काल खुलाउने गरी उपकरण परिचालनको व्यवस्था मिलाइएको कार्यालयको भनाइ छ ।
यसअघि बिहान पनि नाम्सी नयाँ पुल क्षेत्रमा माथिबाट ढुंगा खस्दा सडक एकतर्फी सञ्चालनमा आएको थियो । त्यसपछि पहिरो हटाएर सडक खुलाइए पनि दिउँसो पुनः सामान्य पहिरो खसेपछि केही समय आवागमन प्रभावित बनेको थियो ।
अहिले भने सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिएका छन् । उनले वर्षायाममा विशेष सावधानी अपनाउन, अनावश्यक जोखिम नलिन तथा यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न आग्रह गरेका छन् ।