विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबिच पाँचवर्षे रणनीतिक साझेदारी भएको छ । सन् २०२६/२७ सिजनदेखि लागू भएको यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको मुख्य प्रायोजक तथा अफिसियल होम अप्लायन्सेस पार्टनर बनेको हो ।
सन् २०३०/३१ सिजनसम्म कायम रहने उक्त साझेदारी १ जुलाई २०२६ देखि कार्यान्वयनमा आएको कम्पनीले जनाएको छ । एफसी बार्सिलोनाले सन् २०२६/२७ सिजनका लागि सार्वजनिक गरेको नयाँ घरेलु जर्सीमा माइडियाको लोगो पहिलोपटक देखिएको बताइएको छ । क्लबको परम्परागत नीलो र गाढा रातो पहिचानलाई आधुनिक स्वरूपमा प्रस्तुत गरिएको नयाँ जर्सीले बार्सिलोनाको इतिहास, ऊर्जा र भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ ।
आगामी पाँच सिजनसम्म माइडिया र एफसी बार्सिलोनाले संयुक्त सामग्री निर्माण, खेलदिवस सञ्चार, समर्थक सहभागिता तथा विभिन्न बजारअनुकूल गतिविधिमार्फत विश्वभरका उपभोक्ता र फुटबल समर्थकसँग जोडिनेछन् । खेलकुदको उत्कृष्टता, प्रविधिमा नवप्रवर्तन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा जोड्नु यस सहकार्यको प्रमुख उद्देश्य रहेको माइडियाले जनाएको छ ।
एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले स्मार्ट होम समाधान, अनुसन्धान र नवप्रवर्तनप्रति माइडियाको प्रतिबद्धता भविष्यतर्फ हेर्ने बार्सिलोनाको सोचसँग मेल खाने बताएका छन् । माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले पनि विश्वकै सफल तथा लोकप्रिय खेल संस्थामध्ये एक एफसी बार्सिलोनासँग दीर्घकालीन सहकार्य गर्न पाउनु उत्साहजनक भएको बताए ।
माइडिया र एफसी बार्सिलोनाबिचको यो साझेदारीले नेपाली फुटबल समर्थकलाई समेत ब्रान्डसँग भावनात्मक रूपमा जोड्ने नयाँ अवसर सिर्जना गरेको बताइएको छ । यस सहकार्यले माइडियाको विश्वव्यापी ब्रान्ड पहिचानलाई थप सुदृढ बनाउनुका साथै नेपाली उपभोक्तामाझ स्मार्ट, आधुनिक र सुविधाजनक जीवनशैलीसँग जोडिएको ब्रान्डका रूपमा माइडियाको उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।