जलविद्युत् निर्माणका क्रममा प्रभावित हुने स्थानीय बासिन्दालाई अंकित मूल्यमै साधारण सेयर (आइपिओ) बिक्री गर्नुपर्ने माग स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले गरेको छ । इप्पानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यमै पाउनुपर्ने माग अघि सारेको हो ।
जलविद्युत् कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्कासनको अनुमति पाउन विलम्ब भइरहेको इप्पानले जनाएको छ । तर, यही अवस्थामा कतिपय प्रवद्र्धक कम्पनीहरूले स्थानीयलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न बोर्डसँग लबिङ गरिरहेको विषय बाहिरिएको छ । यस्तो हुन नदिन इप्पानले स्थाानीयलाई अंकित मूल्यमै सेयर बिक्री गर्नुपर्ने माग राखेको छ ।
‘जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयवासीलाई अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० मै सेयर उपलब्ध गराइनुपर्छ भन्ने धारणा रहेको छ,’ इप्पानले भनेको छ, ‘यसकारण धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ मा स्थानीयहरू लाभान्वित हुन् भन्ने उद्देश्यले १० प्रतिशत सेयर दिने गरी कानुनी प्रबन्ध गरिएकाले सोअनुसार नै गर्न पनि सम्पूर्ण सदस्यहरूलाई इप्पान हार्दिक अनुरोध गर्दछ ।’
जलविद्युत् आयोजना लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान रहेको इप्पानको भनाइ छ । ‘आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा व्यहोर्ने र आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई आयोजना स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयवासीका लागि सेयरको व्यवस्था गरिएको हो । यदि त्यही सेयर प्रिमियम मूल्यमा निष्कासन गरियो भने स्थानीय समुदायको पहुँच सीमित हुने, उनीहरूमा अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबिच वर्षौँदेखि निर्माण हुँदै आएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने इप्पानको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।
स्थानीयवासीलाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, आयोजनाप्रति स्वामित्व र अपनत्वको भावना अभिवृद्धि हुने, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोधहरू न्यून हुने, स्थानीयस्तरमा सहयोग र सहकार्य अझ सुदृढ हुने तथा जलविद्युत् आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण निर्माण हुने विश्वास इप्पानले लिएको छ । यसले स्थानीय समुदायले आयोजनाबाट दीर्घकालीन लाभ प्राप्त गर्ने अवसरसमेत सुनिश्चित गर्छ, जसबाट आर्थिक सशक्तीकरण, स्थानीय विकास तथा सामाजिक सद्भावलाई समेत टेवा पुग्ने इप्पानको भनाइ छ ।
‘स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत् आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबिचको सुमधुर सम्बन्धलाई सर्वोपरि राख्दै स्थानीयवासीका लागि छुट्याइने सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउने नीतिलाई निरन्तर कायम राख्न इप्पान सम्पूर्ण सदस्यलाई आग्रह गर्दछ,’ इप्पानले भनेको छ, ‘साथै, साधारण सेयर निष्कासनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाई जलविद्युत् क्षेत्रको लगानी वातावरणलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउँछ ।’