तुलसीलाल स्मृति प्रतिष्ठानले आफ्नो २९औँ स्मृति दिवस तथा सम्मान कार्यक्रम–२०८३ को अवसरमा पूर्वप्रधानमन्त्री तथा प्रतिष्ठानका संस्थापक सभापति माधवकुमार नेपाललाई विशेष सम्मान प्रदान गरेको छ।
प्रतिष्ठानले नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको अग्रणी नेतृत्वदायी भूमिका, तुलसीलाल स्मृति प्रतिष्ठानको स्थापना, जग्गा प्राप्ति, भवन निर्माण तथा संस्थागत विकासमा पुर्याउनुभएको योगदानका साथै समाजसेवा, जनहित, कल्याण, न्याय, समानता र समृद्धिका क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा बौद्धिक क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।