नेपाली महावाणिज्य दूतावास दुबईले आफ्नो स्थापनाको ११ महिनामा दुई सय मृतक नेपालीको शव स्वदेश फिर्ता गरेको छ । जुलाई ३१ मा महावाणिज्य दूतावासको सभाहलमा नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तर्क्रिया कार्यक्रम महावाणिज्यदूत हरि ओडारीले महावाणिज्य दूतावासले गरेका कार्यप्रगति विवरणहरू प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युएईमा रहेका नेपालीहरूको मृत्युदर बढ्दो क्रममा छ ।
महावाणिज्य दूतावासले ०८२ भदौदेखि राहदानी तथा कागजात प्रमाणीकरण सेवा र ०८२ मंसिरदेखि श्रमसम्बन्धी सेवा सञ्चालन प्रारम्भ गरेपछि करिब ११ महिनाको अवधिमा गरेका सेवासम्बन्धी कार्यहरू उपस्थित सामाजिक अभियान्ताहरूलाई जानकारी गराइएको थियो ।
जसअनुसार २१ हजार पासपोर्ट नवीकरण वा नयाँ पासपोर्ट वितरण गरिएको थियो । करिब १२ हजार कागजात प्रमाणीकरण गरिएको महावाणिज्यूत ओडारीले बताए । त्यसैगरी, यात्रा अनुमतिपत्र पाँच सयभन्दा बढी अख्तियारनामा प्रमाणीकरण, करिब एक हजार ६ सय वैधानिकीकरण, श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा प्रदान, पाँच सय संस्थागत भिषा प्रमाणीकरण र चार हजारभन्दा बढी संस्थागत मागपत्र परीक्षण गरी नाै सय मागपत्र प्रमाणीकरण गरेको बताए ।
श्रमिक सहायता तथा गुनासो व्यवस्थापनअन्तर्गत दैनिक ३० भन्दा बढी श्रमिकसम्बन्धी गुनासो प्राप्त भई औसत १५ गुनासोको समाधान तथा व्यवस्थापन गरेको उनले बताए । साथै दैनिक औसत २५० वटा ह्वाट्सएप, मेसेन्जर तथा इमेलमार्फत प्राप्त श्रमिक समस्या, कानुनी जानकारी वा सहयतासम्बन्धी सन्देशको जवाफ दिइएको पनि उनको भनाइ थियो ।
आर्थिक कूटनीति, श्रमिक सचेतना तथा विप्रेषण (रेमिट्यान्स) प्रवर्द्धनसम्बन्धी २० वटा बैठक तथा कार्यक्रम आयोजना र सोसम्बन्धी कार्यक्रममा सहभागिता रहेको महावाणिज्य दूतावासले जनाएको छ ।
पछिल्लो ११ महिनाकाे वित्तीय उपलब्धिअन्तर्गत रु. ३३ करोड राजस्व संकलन गरिएको छ भने महावाणिज्य दूतावासको वार्षिक सञ्चालन खर्च रु. १० करोड रहेको छ ।
महावाणिज्य दूतावासले स्थापनादेखि अहिलेसम्म गरेका कार्यहरूको जानकारी तथा सुझाव संकलन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा युएईमा क्रियाशील विभिन्न वैचारिक संस्थाका नेतृत्व, एनआरएन युएई, नेपाली समाज, नेपाली आदिवासी जनजाति महासंघलगायत महावाणिज्य दूतावासका कर्मचारीहरूको सहभागिता रहेकाे थियो ।
महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंको सञ्चालन रहेको उक्त अन्तर्क्रिया कार्यक्रममा महावाणिज्यदूत हरि ओडारीले महावाणिज्य दूतावासले गरेका कार्यप्रगति विवरणहरू प्रस्तुत गर्दै गर्न सकिएका र गर्न नसकिएका कार्यहरूमाथि समीक्षा गरेका थिए ।
महावाणिज्य दूतावास स्थापनाको करिब एक वर्षमा नेपाली श्रमिकलक्षित सेवा प्रवाहमा आफ्नो नेतृत्वको महावाणिज्य दूतावास दुबईले श्रमिकमैत्री सेवा दिन कतै कञ्जुस्याइँ नगरेको उनको भनाइ थियो । उनले महावाणिज्य दूतावास दुबईको सेवालाई प्रभावकारी बनाउन के गर्न सकिन्छ भनेर नेपाली समुदायका प्रतिनिधिहरूसँग सुझाव पनि मागेका थिए ।
कार्यक्रममा उपस्थित संस्थाका प्रतिनिधिहरूले, ब्लडमनी, श्रम स्वीकृति, डिमान्ड स्वीकृति, सामाजिक सुरक्षाकोष, श्रमिकका कानुनी समस्या, स्वास्थ्य समस्या, मानसिक समस्या, राहत, उद्धारसम्बन्धी महावाणिज्य दूतावासले गरेका कार्यहरूको समीक्षासहित राय–सुझावहरू प्रस्तुत गरेका थिए ।
उनीहरूले छोटो समयमा महावाणिज्य दूतावासले गरेको कार्यको प्रशंसा गर्दै महावाणिज्य दूतावासले न्यून कर्मचारी हुँदा पनि श्रमिक सेवा प्रभाव प्रभावकारी राखेकोमा खुसी व्यक्त गरेका थिए ।
महावाणिज्य दूतावासले जेलमा रहेका नेपालीहरूको तथ्यांक र अवस्था संकलन, घातक रोगबाट हस्पिटलमा रहेका नेपालीहरूको तथ्यांक र अवस्था संकलन गरी समस्या समाधानका लागि कानुनी सेवामा प्रभावकारी पहल दिनुपर्ने कुरा पनि सुझावस्वरूप राखिएको थियो ।