थाइल्यान्डबाट ११ किलो गाँजा ल्याउने तीन भारतीय नागरिक काठमाडौंमा पक्राउ

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

थाइल्यान्डबाट नेपाल ल्याइएको ११ किलो गाँजासहित तीनजना भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको पन्जाब लुधियाना घर भएका ३० वर्षीय सोनी, पन्जाबकै २३ वर्षीय जागरूप सिंह र हरियाणाका २२ वर्षीय साहिल रहेका छन्।

लागुऔषध तस्करी हुन सक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार शनिबार राति क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर CX ६०३ मार्फत थाइल्यान्डबाट हङकङ हुँदै नेपाल आएका दुई भारतीय नागरिकले झोलाभित्र लुकाएर ल्याएको ११ किलो थाइल्यान्डको गाँजा बरामद गरिएको हो। उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ११ किलो गाँजा, तीन थान पासपोर्ट र तीन थान मोबाइल बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

सुझावित समाचार