दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको विषयलाई लिएर दाङमा राजनीतिक बहस चर्किएको छ। नेपाली कांग्रेसका नेता दीपक गिरीले शनिबार दाङको हापुरेमा आयोजित एक कार्यक्रममा विमानस्थल विस्तारका प्राविधिक र आर्थिक कठिनाइ देखाउँदै काम हुन नसक्ने दाबी गरेपछि दाङ क्षेत्र नम्बर ३ का सांसद कमल सुवेदीले त्यसको कडा प्रतिवाद गरेका छन्।
नेता गिरीले टरिगाउँ विमानस्थल विस्तारका लागि १७ बिघा जग्गा अधिग्रहण नगरेसम्म कुनै पनि हालतमा विमानस्थल बन्न नसक्ने दाबी गरे। उनले जग्गा मुआब्जाका लागि मात्रै ७० देखि ९० करोड रुपैयाँ आवश्यक पर्ने र उक्त रकम सरकारले विनियोजन नगरेसम्म टेन्डर प्रक्रिया अघि बढ्न नसक्ने बताए।
विगतमा एक करोड र पाँच करोड रुपैयाँजस्ता साना बजेटबाट धावनमार्ग विस्तार नभई स–साना काम मात्रै हुने गरेको उल्लेख गर्दै उनले अहिलेको २५ करोड रुपैयाँ बजेटले पनि मुआब्जाको समस्या समाधान नभएसम्म ठोस नतिजा दिन नसक्ने बताए।
नेता गिरीको उक्त टिप्पणीप्रति प्रतिक्रिया दिँदै सांसद कमल सुवेदीले विकासका काममा ‘हुँदैन’ भन्ने पुरानो र निराशावादी सोच त्याग्नुपर्ने बताए। टरिगाउँ विमानस्थल दाङको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै उनले अबको नेतृत्वमा ‘गरौँ र बनाऔँ’ भन्ने दृढ संकल्प हुनुपर्नेमा जोड दिए।
सांसद सुवेदीले केही दिनअघि तुलसीपुर उद्योग वाणिज्य संघको स्वागत कार्यक्रममा पाँच वर्षभित्र टरिगाउँ विमानस्थलमा ७२ सिटे जहाज अवतरण गराउने प्रतिबद्धता जनाएका थिए। उनले उक्त लक्ष्य पूरा गर्न नसके आफ्नो राजनीतिक भविष्यमा समेत असर पर्ने बताएका थिए।