नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी पर्वतारोहीहरूको निधनप्रति दुःख व्यक्त गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले सोमबार जारी गरेको शोक वक्तव्यमार्फत दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
पोखरेलले ब्रोड पिक हिमपहिरो घटनालाई नेपालको पर्वतारोहण इतिहासकै दुःखद क्षतिको रूपमा उल्लेख गरेका छन्। उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल ६ महिना ६ दिनमा आरोहण गरी विश्वकीर्तिमान कायम गर्दै नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ र उनका सहयात्रीहरूको निधनले पार्टी स्तब्ध भएको बताएका छन्।
एमालेका अनुसार उक्त दुर्घटनामा निर्मल पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको हो।
पार्टीले दिवंगत सबै आरोहीहरूप्रति सम्मान प्रकट गर्दै उनीहरूको योगदानलाई नेपालको पर्वतारोहण क्षेत्रले सधैँ सम्झिरहने जनाएको छ।