हिमालकै काखमा अस्ताए विश्वकीर्तिमानी पर्वतारोही ‘निम्स दाइ’

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण
  • संसारलाई नेपाली साहस, नेतृत्व र पर्वतारोहणको नयाँ उचाइ चिनाउने निम्स दाइको पाकिस्तानस्थित ब्रोड पिकमा आएको विनाशकारी हिमपहिरोमा निधन, उनीसहित अभियानमा रहेका सबै आरोही (१० जना, जसमा ६ नेपाली)ले पनि ज्यान गुमाए

विश्वका अग्ला शिखरहरूलाई बारम्बार जितेर असम्भवलाई सम्भव बनाउने नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ अन्ततः हिमालकै काखमा बिलाएका छन् । संसारलाई नेपाली साहस, नेतृत्व र पर्वतारोहणको नयाँ उचाइ चिनाउने निम्स दाइको पाकिस्तानस्थित ब्रोड पिकमा आएको विनाशकारी हिमपहिरोमा परी निधन भएको छ । उनीसँगै अभियानमा रहेका सबै आरोही (१० जना, जसमा ६ नेपाली)ले पनि ज्यान गुमाएका छन् ।

१४ वटा आठहजारे हिमाल कीर्तिमानी समयमा आरोहण गरेर विश्वलाई चकित पारेका निम्स दाइको अन्त्य पनि हिमालमै भएको घटनालाई विश्वभरका सञ्चारमाध्यमले प्रकाशन–प्रसारण गरेका छन् । पुर्जासम्बद्ध आरोहण कम्पनी एलाइट एक्स्पेडले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पुर्जाको निधन पुष्टि गरेको छ । ‘अत्यन्तै गहिरो दुःख र स्तब्धताका साथ हामी यो पुष्टि गर्दछौँ– ब्रोड पिकमा आएको हिमपहिरोमा परी निम्स दाइ (निर्मल पुर्जा)को दुःखद निधन भएको छ,’ एलाइटले शनिबार भनेको छ । 

पुर्जाको नेतृत्वमा ब्रोड पिक गएको आरोहण टोलीमा पूरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा, नधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल साखी (पाकिस्तान), वाङ जोङ (चीन) र म्यालोरी गाइस (अमेरिका) थिए । आरोहण दलका १० जनाकै निधन भएको अधिकारीहरूले पुष्टि गरेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार हराइरहेका शव रहेको क्षेत्र पहिचान हुन थालेको छ, मौसमका कारण शव संकलन गर्न अझै चुनौती छ । पुर्जाका व्यावसायिक साझेदार हसन अलजबाल रमाललाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले हिमालमा निम्स दाइको शव फेला परेको समाचार दिएको छ ।

बिहीबार मध्याह्नतिर करिब ६,६०० मिटरको उचाइमा रहेको क्याम्प २ र ३ को बिचमा पर्ने हिमालको पश्चिमी क्षेत्रमा हिमपहिरो गएको थियो । त्यसलगत्तै आरोहण टोलीसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । शुक्रबारदेखि पाकिस्तानी सैन्य हेलिकोप्टर र चर्चित आरोही सिरबाज खान तथा शेरजाद करिमसहितको उद्धार टोली हिमपहिरो प्रभावित क्षेत्रमा खटिएकोमा शनिबार नेपालबाट मिङ्मा डेभिड शेर्पासमेत थपिएका छन् ।

एलाइट एक्स्पेडले अन्य आरोहीको पनि मृत्यु भएको जनाएको छ । ‘आज, हामी निम्सको मात्र नभई यो त्रासदीमा ज्यान गुमाउने प्रत्येक व्यक्तिको शोक मनाइरहेका छौँ, जसमा उहाँका भरपर्दा आरोहण साझेदार तथा गाइडहरू पुरबहादुर गुरुङ ‘युक्ता’ र निमा शेर्पा पनि हुनुहुन्छ,’ एलाइट एक्स्पेडको विज्ञप्तिमा छ ।

पर्वतारोहण करिअरमा पुर्जाले आठ हजार मिटरभन्दा अग्ला चुचुराहरू ५६ पटक आरोहण गरेका छन् भने २८ पटक पूरक अक्सिजनविना आरोहण गरेका थिए । उनले जनवरी २०२१ मा विश्वको दोस्रो अग्लो केटु हिमालको आरोहण गरेका थिए । विश्वका सर्वोच्च शिखरहरूको सफल आरोहण गरेका पुर्जामाथि बनेको नेटफ्लिक्स वृत्तचित्र निकै चर्चित बनेको थियो ।

म्याग्दीमा जन्मेका निम्स दाइ चितवनमा हुर्केका थिए । उनले ब्रिटिस गोर्खा सैनिकमा पनि काम गरेका थिए । उनी ब्रिटिस सेनामा सन् २००३ मा भर्ना भएर १५ वर्ष सेवा गरेका थिए । उनी रोयल नेभीको उत्कृष्ट विशेष बल युनिट ‘ब्रिटिस स्पेसल बोट सर्भिस’मा छनोट भएका थिए । सन् २०१९ मा पुर्जाले आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गर्ने उद्देश्यले ‘प्रोजेक्ट पोसिबल’ नामक अभियान सुरु गरेका थिए ।

उनले नेपालका आठ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल ३१ दिनमा र पाकिस्तानका पाँच हिमाल २३ दिनमा आरोहण गरेका थिए । उनले सगरमाथा र अन्य तीन चुचुरा ४८ घण्टा ३० मिनेटभित्रै आरोहण गरे भने ६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका थिए ।

पुर्जाको कीर्तिमानीबारे ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ नामक वृत्तचित्र बनेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२३ मा आरोहीद्वय क्रिस्टिन हरिला र तेन्जेन लामा शेर्पाले ९२ दिनमा ती आरोहण पूरा गर्दै राखेको रेकर्ड तोड्दै पुर्जाले नयाँ रेकर्ड बनाएका थिए । एक वर्षपछि पुर्जाले सन् २०२४ मा विनाअक्सिजन पुनः १४ वटै हिमालको आरोहण गरे । उनले ११ साउनमा सामाजिक सञ्जाल एक्समा लेखेअनुसार अक्सिजनविना १४ वटै चुचुरो दोस्रोपटक आरोहण गर्ने उनको प्रयासमा ब्रोड पिक दोस्रो अन्तिम हिमाल थियो ।

सन् २०२१ मा पुर्जाले मिङ्मा ग्याबु शेर्पा र तेजन गुरुङसँग मिलेर ‘एलाइट एक्स्पेड’ नामको गाइडिङ कम्पनी स्थापना गरेका थिए । उनको अन्तिम आरोहण अभियान पाकिस्तानको काराकोरममा अवस्थित ब्रोड पिक (८,०४७ मिटर)मा टुंगिएको छ । ‘निम्स दाइ र ज्यान गुमाउने ती सबैप्रति, तपाईंहरूलाई कहिल्यै बिर्सिने छैनौँ,’ निम्स दाइ फाउन्डेसनले भनेको छ, ‘तपाईंको भावना, तपाईंको उद्देश्य र तपाईंको विरासतले आउने पुस्ताहरूलाई निरन्तर प्रेरणा दिइरहनेछ ।’

बिहीबार पुर्जासहित टोली विश्वको १२औँ अग्ला ब्रोड पिक हिमाल आरोहण गर्ने क्रममा हिमपहिरोमा परेको थियो । शुक्रबार आरोहण दलका पुरबहादुर गुरुङ ‘युक्ता’ र ओमानी आरोही नाधिरा अल हार्थीको शव फेला परेको र पहिचान भएको पुष्टि भएको थियो भने अमेरिकी आरोही मेलोरी गिसको एउटा खुट्टा हिमपहिरोमा फेला परेसँगै मृत घोषणा गरिएको थियो ।

एलाइट एक्स्पेडले पुर्जाको प्रभाव उनको आरोहण उपलब्धिका रूपमा मात्र सीमित नरहेको भनेको छ । ‘विश्वले पर्वतारोहणका महान् आरोहीमध्ये एकलाई गुमाएको छ, एक यस्ता टोली नेता जसले आफ्नो साहस, नम्रता र मानव क्षमता हामीले सोचेभन्दा धेरै ठुलो हुन्छ भन्ने अचल विश्वासमार्फत लाखौँलाई प्रेरित गर्नुभयो,’ एलाइटले भनेको छ, ‘पुर्जाको विरासत उहाँले स्थापना गर्नुभएका संस्थाहरू, जस्तै एलाइट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइभेल निम्सदाइ र निम्सदाइ स्टोरका साथै विश्वभर उहाँले प्रेरित गर्नुभएका अनगिन्ती मानिसहरूमार्फत जीवन्त रहनेछ ।’ पुर्जाका व्यावसायिक साझेदार मिङ्मा डेभिड शेर्पा खोजी तथा उद्धार कार्यमा सहयोग गर्न शनिबार बिहान पाकिस्तान पुगेका थिए ।

प्रधानमन्त्रीसहित शीर्ष नेताको शोक सन्देश
प्रधानमन्त्री बालेन्द्र शाहले पुर्जासहित ६ नेपाली तथा चार विदेशी आरोहीहरूको निधनबाट आफू स्तब्ध भएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा जारी शोक सन्देशमा प्रधानमन्त्री शाहले हिमाल अरोहीहरू आफ्ना साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने पनि उल्लेख गरेका छन् ।

‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् । विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृंखलामा अवस्थित ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित ६ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ । निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।’

रास्वपा सभापति रवि लामिछानेले शोक सन्देश जारी गर्दै पुर्जासहित सबैमा श्रद्धाञ्जली दिएका छन् । लामिछानेले लेखेका छन्, ‘फर्किएर भेट्ने बाचा थियो । तर, तिमी नफर्किने बाटोमा गएछौ । अब त केवल सम्झनाहरू मात्र बाँकी छन् । तिम्रो अनुपस्थितिले मन भारी भएको छ, तर तिमी र तिम्रो अदम्य साहस सम्झना भएर अनन्त बाँचिरहनेछ । जहाँ भए पनि तिमी चिर शान्तिमा रहनू ।’

कांग्रेस सभापति गगनकुमार थापाले शनिबार शोक सन्देश जारी गरेका छन् र पुर्जालाई प्रोजेक्ट पोसिबलभन्दा पहिले नै भेटेको उल्लेख गर्दै लेखेका छन्, ‘मलाई साँच्चै विश्वास थियो कि तपाईंले सधैँजस्तै यसपटक पनि फर्किने कुनै न कुनै बाटो खोज्नुहुनेछ ।’

रेकर्डहरूभन्दा पनि बढी पुर्जाले नेपाली पर्वतारोहीहरूप्रति विश्वको दृष्टिकोण बदलेको थापाले स्मरण गरेका छन् । ‘नेपालीहरू हिमाल आरोहण अभियानका पछाडिका शक्ति मात्र होइनन्, उनीहरू नेतृत्वकर्ता, अग्रगामी र नयाँ सोचका साथ पर्वतारोहणको भविष्यलाई पुनर्परिभाषित गर्न सक्ने व्यक्तिहरू हुन् भनेर तपाईंले देखाउनुभयो । तपाईंको यो विरासतले भावी पुस्तालाई सधैँ प्रेरणा दिइरहनेछ,’ थापाले भनेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित अन्य १० जना आरोहीको निधनले आफू स्तब्ध भएको भनेका छन् । ‘हिमाल आरोहणको क्षेत्रमा उहाँहरूको योगदान हामी सबै नेपालीले सधैँ सम्झिरहनेछौँ,’ प्रचण्डले भनेका छन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि पुर्जासहितका आरोहीहरूको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
 

सुझावित समाचार