पूर्वी पहाडी जिल्ला संखुवासभामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ। शनिबार कृषि ज्ञान केन्द्र संखुवासभाको आयोजनामा जिल्लाको खाँदबारी नगरपालिका–४ स्थित डाँडापांङ्मामा कोदो दिवस मनाइएको हो। स्थानीय चण्डीहाङ राईको बारीमाकृषि ज्ञान केन्द्रकाकर्मचारीहरु, राष्ट्रिय कृषि आधुनिकीरण कार्यक्रममा कार्यालयका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मीहरूको उपस्थितिमा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको हो।
पहाडी जिल्लाहरूमध्ये संखुवासभा कोदो उत्पादनको हिसाबले हेर्दा राम्रो रहेको तर पछिल्लो समय लोपोन्मुख हुँदै गएकाले रैथाने बाली कोदोको संरक्षण र उत्पादकत्व बढाउनका लागि दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माले बताए। उनले यस संखुवासभा जिल्लामा धान, मकै, गहुँ र कोदो मुख्य खाद्यान्न बालीअन्तर्गत रहेको तथा कोदोमा आइरन तत्वसमेत धेरै पाइने भएकाले रैथाने कोदो बालीको प्रवर्द्धन गर्न सरकार लागि परेको कार्यालय प्रमुख विश्वकर्माले बताए ।
कृषि ज्ञान केन्द्र संखुवासभाको तथ्यांकअनुसार गत वर्ष संखुवासभामा ६ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो भने ८ हजार ७ सय ३२ मेट्रिकटन कोदो उत्पादन भएको थियो भने उत्पादकत्वप्रति हेक्टर १.३१ मेट्रिकटन रहेको छ । यो वर्ष धमाधम कोदो रोपाइँ भइरहेको हुँदा तथ्यांक आउन बाँकी रहेको कार्यालयले जनाएको छ।
कोदोमा पर्याप्त मात्रामा आइरन प्राप्त हुने गर्दछ । त्यसैले मधुमेह, उच्च रक्तचाप र मोटोपनजस्ता नसर्ने रोगहरू बढेसँगै पोषणयुक्त तथा कम प्रशोधित खाद्यान्नको रूपमा कोदोको ढिँडो र पिठोको माग छ। गाउँमा भन्दा सहरमा पछिल्लो समय कोदो ढिँडो र रोटीको धेरै माग हुने गरेको छ ।