रुपन्देहीमा नक्कली भारुसहित दुई भारतीय पक्राउ

शुक्रबार, १५ साउन, २०८३
डिजिटल संस्करण

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट नक्कली भारतीय नोटसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बिहीबार राति करिब ९ बजे सिद्धार्थनगर– १२ मा नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मानबहादुर बिसीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर, सोहरतगढ निवासी २१ वर्षीय अभिषेक कसौधन र महाराष्ट्र निवासी २४ वर्षीय यश बाउसाहेब ब्राह्मण रहेका छन्।

प्रहरीले उनीहरूबाट भारतीय रुपैयाँ पाँच सय दरका १४० थान नक्कली नोट, विभिन्न कम्पनीका दुई थान मोबाइल फोन तथा दुई थान भारतीय आधार कार्ड बरामद गरेको जनाएको छ।

घटनामा संलग्न दुवैजनाविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार