प्रतिनिधिसभाको बैठकमा सांसद रिमा विश्वकर्माले झुट बाेलेपछि‍...

बालेनको नेतृत्वमा सरकार बनेपछि १८ असार २०८३ मा बढैयाताल गाउँपालिकाका २९ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको थियो

शुक्रबार, १५ साउन, २०८३
डिजिटल संस्करण

सांसद रिमा विश्वकर्माले प्रतिनिधिसभाको बैठकमा  झुट बोलेकी  छिन्  । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले अहिलेको सरकारले ८२ जना भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गरेको भन्दै झुट बोलेकी हुन् । सांसद विश्वकर्माले आफू जन्मभूमि बर्दिया पुगेर आएको र सरकारले भूमिहीन नागरिकको दशकौँदेखिको पीडालाई सम्बोधन गर्ने  ऐतिहासिक अभियानअन्तर्गत ८२ परिवारलाई लालपुर्जा वितरण गरेको बताइन् ।

संसदमा बोल्दै सांसद बिश्वकर्माले भनिन्, ‘​प्रमुख जिल्ला अधिकारीका अनुसार बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा २९ परिवार, बाँसगढी नगरपालिकामा १३ परिवार र गुलरिया नगरपालिकामा ४० परिवार गरी हालसम्म ८२ भूमिहीन सुकुमवासी परिवारले लालपुर्जा प्राप्त गरेका छन् । ​सामाजिक सञ्जालमा हाम्रो सरकारलाई सुकुमवासीको उठीवास गराउने सरकार भनेर प्रचार गरिए पनि, वास्तविकतामा सरकार समस्याको दीर्घकालीन समाधानतर्फ अघि बढेको छ।’

सांसद विश्वकर्माले उल्लेख गरेका ८२ परिवारमध्ये बाँसगढी नगरपालिकाका १३ र गुलरिया नगरपालिकाका ४० गरी ५३ परिवारले वर्तमान सरकार गठनअघि लालपुर्जा पाएका थिए । उनले आफ्नो सरकारको उपलब्धि भन्दै अघिल्लो सरकारको कामको तथ्यांक‌ प्रस्तुत गरेकी छिन् । तत्कालीन भूमि समस्या समाधान आयोगले ३२ असार ०८२ मा गुलरिया नगरपालिकाको कार्यालयमा  भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गरेको थियो ।

बालेनको नेतृत्वमा सरकार बनेपछि १८ असार ०८३ मा बढैयाताल गाउँपालिकाका २९ घरपरिवारलाई  लालपुर्जा वितरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २९ घरपरिवारलाई लालपुर्जा वितरण गरेका थिए ।

सांसद विश्वकर्माले अझै पनि देशभर वास्तविक भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्ने लाखौँ परिवार जग्गाधनी प्रमाणपुर्जाको पर्खाइमा रहेको बताइन् । उनले भनिन्, ‘​देशभरबाट दर्ता भएका १२ लाख ४७ हजार ४६९ निवेदनलाई कानुनबमोजिम प्रमाणीकरण गरियोस्। हुकुमवासीबाट वास्तविक सुकुमवासी छुट्याइयोस्। अधिकार पाउनुपर्ने एकजना पनि नागरिक नछुटून् र अभियानले देशभर निरन्तरता पाओस्।’

​क्षणिक लोकप्रियताका लागि समस्याको राजनीतीकरण गर्न तल्लीन आलोचना र भ्रमहरूबिच, सबैका लागि सधैँका लागि दीर्घकालीन समाधानमा सरकार केन्द्रित भएको बताइन् ।

सुझावित समाचार