राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा विकसित पछिल्लो अवस्था, देखिएका समस्या र समाधानका सम्भावित उपायबारे तराई–मधेशकेन्द्रित विभिन्न दलका नेतासँग छलफल गरेका छन्।
यसअघि रास्वपाबाट मधेशको प्रतिनिधित्व गर्ने सांसदहरूसँग आन्तरिक परामर्श गरेका लामिछानेले त्यसलगत्तै मधेशकेन्द्रित राजनीतिक दलका नेताहरूसँग संयुक्त छलफल गरेका हुन्।
छलफलमा जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, नेता उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्मालगायत सहभागी थिए।
छलफलअघि सहभागी नेताहरूले मधेशमा भइरहेका घटनाको निष्पक्ष छानबिन गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै संयुक्त अपिल जारी गरेका थिए। सोही सन्दर्भमा मधेशको वर्तमान अवस्था र निकासका उपायबारे लामिछानेसँग विस्तृत छलफल भएको जनाइएको छ।