राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनामा नागरिकको ज्यान गएको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले घटनामा गोली कसले चलायो र कसको आदेशमा नागरिकमाथि हतियार प्रयोग भयो भन्ने कुरा सार्वजनिक गर्न सरकारसँग माग गरिन्।
‘सुनसरीको कप्तानगन्जमा गोली कसले चलाएको हो ? कसको आदेशमा नागरिकमाथि हतियार प्रहार भयो ? यो कुरा पीडित परिवार र आमजनताले जान्न पाउनुपर्छ,’ उनले भनिन्।
उनले सरकारले आफ्नै नागरिकमाथि बल प्रयोग गरेर शान्तिसुरक्षा कायम गर्न खोजेको हो कि होइन भन्ने प्रश्नसमेत उठाइन्।
सांसद ओलीले घटनामा ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाइन्। उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्।