टरिगाउँमा बस्ला ७२ सिटे ?, व्यवसायीमा शंका, सांसदमा आशा

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

तुलसीपुरको आकाशमा ठुला जहाज उडेको हेर्ने दाङवासीको दशकौँ पुरानो सपना अहिले फेरि एकपटक चर्चाको शिखरमा पुगेको छ। दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुवेदी र स्थानीय उद्योगी–व्यवसायीबिचको हालैको संवादले यो मुद्दालाई थप गर्माएको छ। लामो समयदेखि प्राविधिक र बजेटरी उल्झनमा फसेको टरिगाउँ एयरपोर्ट विस्तारको विषय अहिले ‘गर या मर’को स्थितिमा पुगेको देखिन्छ।

नयाँ राजनीतिक दलले दुईतिहाइनजिककाे बहुमत ल्याएको र चालू वर्षका लागि २५ करोड बजेट परेपछि केही आशा पलाएको छ भने त्यसमा शंका पनि उत्तिकै छन् । किनकि विगतमा पनि टरिगाउँ एयरपोर्टका लागि बजेट आइरहन्थे, बजेटमा भाषण भइरहन्थे । तर, कार्यान्वयन फिटिक्कै भएनन् । 

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले स्पष्ट रूपमा भनेका छन् कि ‘यो बजेटबाट तत्काल कम्तीमा १२ सय–१३ सयभन्दा माथि जति भए पनि धावनमार्ग विस्तारका लागि टेन्डर प्रक्रिया सुरु हुनैपर्छ। । यदि यो वर्ष टेन्डर हुन सकेन भने यो एयरपोर्ट बन्दैन भन्ने कुरामा ढुक्क भए हुने कुरा उनले बताए । ‘यो वर्ष नै टेन्डर भयो भने भयो,’ उनले भने, ‘यदि यो वर्ष पनि भएन भने यो एयरपोर्ट बन्दैन भन्ने नै हो, मैले धेरै  ठाउँ बुझेँ ।’

 कर्मचारी संयन्त्र र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को नाफामूलक र स्वायत्त सोचले कतै यो आयोजना फेरि रोकिने त होइन भन्ने आशंका रहेको उनले बताए । टरिगाउँ एयरपोर्ट अब केवल एउटा पूर्वाधार मात्र रहेन, यो स्थानीय राजनीतिको परीक्षाको केन्द्रसमेत बनेको छ। पूर्वअध्यक्ष विमल रिजालका अनुसार, यो एयरपोर्ट मात्र बनेमा अरू विकासका काम नभए पनि जनताले स्वीकार गर्ने बताएका छन् । उनले यसलाई सांसदको ‘पास वा फेल’ हुने कडीका रूपमा व्याख्या गरेका छन् ।

अर्का पूर्वअध्यक्ष विरु रावतले त झन् कडा चेतावनी दिँदै भनेका छन्, ‘यदि ७२ सिटे जहाज यहाँ अवतरण गर्न सकेन भने भारी मतले विजयी भएका सांसदको लोकप्रियता ओरालो लाग्ने निश्चित छ ।’

व्यवसायीहरूको यो गम्भीर चासो र दबाबलाई सम्बोधन गर्दै सांसद कमल सुवेदीले निकै ठुलो राजनीतिक जोखिम मोल्ने  घोषणा गरेका छन् । उनले सार्वजनिक रूपमै प्रतिबद्धता जनाएका छन् कि आगामी पाँच वर्षभित्र टरिगाउँमा ७२ सिटे जहाज बसालेरै छाडिनेछ। उनले कर्मचारी प्रशासनलाई काममा लगाउने र आवश्यकता परे निजी क्षेत्रलाई समेत लगानीमैत्री वातावरण बनाएर सहभागी गराउने योजना अघि सारेका छन् । यदि उनले यो काम पूरा गर्न नसके आफ्नो राजनीति नै समाप्त हुनेसम्मको कडा अभिव्यक्ति दिएका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका– १२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा पर्छ । ०११ सालमा उक्त विमानस्थल सञ्चालनमा आएको हो । तर, यस विमानस्थल सुरुवातदेखि जत्राे थियो, त्योभन्दा ठुलो बनाउन सकिएको छैन  । हाल विमानस्थलको लम्बाइ ७५० मिटर रहेको छ । धावनमार्ग सानो भएकै कारणले अहिले ठुला विमानहरू बस्न सक्दैनन् । १९ सिटे जहाज मात्रै बस्छन् । त्योभन्दा ठुला जहाज बस्न नसक्दा नियमित पनि हुन सकेको छैन भने  भाडा पनि महँगो छ ।

जसले गर्दा प्रभावकारी रूपमा सेवा सञ्चालन हुन सकेको छैन । ‘हामीले हप्तामा चार दिन हवाई सेवा सञ्चालन गरिरहेका छौँ,’ नेपाल एयरलाइन्सका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले भने, ‘तर, नियमित छैन, कहिल्यै महिनामा दुई दिन मात्रै पनि चल्छ ।’

आइतबार, मंगलबार, बिहीबार र शुक्रबार आउने भनिए पनि नियमित हुन सकेको छैन । कहिले यात्रु नभएर समस्या हुन्छ भने कहिले मौसमले पनि साथ दिँदैन । त्यसले गर्दा पनि यहाँका यात्रुहरू भैरहवा र नेपालगन्ज जानुपर्ने बाध्यता रहँदै आएको छ  । यसको धावनमार्ग विस्तारका लागि पटक–पटक आवाज उठे । तैपनि पूरा हुन सकेको छैन ।

आर्थिक वर्ष ०६८/६९ को बजेट वक्तव्यदेखि दाङको टरिगाउँ विमानस्थलमा नियमितजसो वर्षहरूमा बजेट वक्तव्यमा आउने गर्थ्याे । तर, बजेट भने नआउने समस्याले यस क्षेत्रका नागरिक आजित छन् । ०६८/६९ मा कालोपत्रे भएको थियो । जतिवेला कर्मचारी सञ्चय कोषबाट ऋण लिएर देशका विभिन्न विमानस्थलहरूको कालोपत्रे गरिएको हो ।

करिब साढे आठ करोड लागतमा अस्फाल्ट प्रविधिबाट विमानस्थल कालोपत्रे भएको हो । त्यसपछि ०७८ तिर ५८ लाख लागतमा टर्मिनल भवन बन्यो । त्योबाहेक अन्य बजेट आएको छैन ।

०११ सालदेखि ०४२ सालसम्म नियमित रूपमा विमान सञ्चालनमा भएको एयरपोर्ट त्यसबिचमा नियमित हुन सकेको थिएन । तैपनि कहिले आउने र कहिले नआउने गर्दै ०५८ सालसम्म चल्यो । त्यसपछि कालोपत्रेको काम भयो । कालोपत्रे हुँदा उडान अवरुद्ध नै थियो ।

कालोपत्रेपश्चात् पुनः ०७२ जेठ १४ गते गोमा एयरले उडान सुरु गरेको थियो । तर, त्यो एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्न पुगेको थियो। हाल नेपाल एयरलाइन्सले टरिगाउँमा उडान भरिरहेको छ  । तैपनि निश्चित छैन । सानो हावा लाग्यो भने पनि उडान हुँदैन । बादल वा हुस्सु लाग्यो भने पनि समस्या त्यस्तै हुन्छ ।

विमानस्थल विस्तारका लागि चारवटा विकल्प दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर टरिगाउँ विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको छ । तर, विकल्प नम्बर १ अनुसार नै काम गर्ने गरी अगाडि बढे पनि त्यो हुन सकेको छैन ।

पहिलो विकल्प हाल भइरहेको धावनमार्गमै विस्तार गरी १२३० मिटर लम्बाइ रनवे हुन सक्छ । जसका लागि  ५७ बिघा जग्गा चाहिन्छ । अहिले एयरपोर्टको ३९ बिघा जग्गा छ । बाँकी सामुदायिक वनको १२ बिघा, अधिग्रहण १.२ बिघा र सार्वजनिक जग्गा ४.८ बिघा लैजानुपर्छ ।

यसरी एयरपोर्ट बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख ५४ हजार आठ सय लागत अनुमान गरिएको छ । जसमा फुटपाथ तथा संरचना निर्माणको कामका लागि दुई अर्ब ७६ करोड ५० लाख ९४ हजार ८६०, भवनलगायतका सामग्रीहरूका लागि  तीन अर्ब १३ करोड ४२ लाख ४० हजार, विविध कामका लागि १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणका लागि १० करोड २५ लाख लागत अनुमान गरिएको छ ।

See More On

सुझावित समाचार