जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय शाखा भारतको हरियाणा राज्यस्थित गुरुग्राममा सञ्चालनमा आउने भएको छ । १५ साउनदेखि सञ्चालनमा आउन लागेको हो । जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनले भारतमा शाखा विस्तारलाई व्यवसाय विस्तारभन्दा पनि नेपाली खाना, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानको सुरुवातका रूपमा लिएको बताए । उनले भारतीय तथा अन्य मुलुकका ग्राहकलाई प्रामाणिक थकाली स्वादसँगै नेपालको संस्कृति, आतिथ्य र हिमाली जीवनशैलीको अनुभव गराउने उद्देश्य रहेको उल्लेख गरे ।
कम्पनीका अनुसार नयाँ शाखामा थकाली खाना सेट, ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी तथा जिम्बु र टिमुरको स्वाद समेटिएका परिकार उपलब्ध हुनेछन् । मौलिक स्वाद कायम राख्न जिम्बु, टिमुरलगायत रैथाने नेपाली मसला नेपालबाटै आपूर्ति गरिनेछ भने अन्य ताजा सामग्री स्थानीय रूपमा व्यवस्थापन गरिनेछ ।
अन्तर्राष्ट्रिय ग्राहकलाई लक्षित गरी परम्परागत थकाली परिकारसँगै केही नयाँ शैलीका परिकार पनि समावेश गरिएको कम्पनीले जनाएको छ । चटामरी, बारा, विभिन्न प्रकारका मःमः, गुन्द्रुकको झोल, सेकुवा, जुजु धौबाट बनाइने मिठाइ तथा खुवा यमरी पनि मेनुमा रहनेछन् ।
रेस्टुरेन्टमा नेपालीशैली झल्कने गरी नेपाली काष्ठकला, बुट्टेदार झ्याल, कलात्मक स्तम्भ तथा थकाली संस्कृतिको झल्को दिने सामग्री प्रयोग गरिएको कम्पनीले जनाएको छ । आधुनिक सुविधासँग नेपाली वास्तुकला र आतिथ्यलाई संयोजन गरी ग्राहकलाई नेपालकै अनुभूति गराउने लक्ष्य राखिएको छ ।