- देवानगन्जमा शान्ति फर्किँदै, तर गोलीकाण्डको न्याय र साम्प्रदायिक विश्वास पुनर्स्थापनाको चुनौती कायमै
सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा डिजेबाजा बजाउने विषयबाट सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको घटनाको चार दिनपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ । स्थानीयवासी, राजनीतिक दल, नागरिक समाज तथा प्रदेश सरकार एकापसमा हातेमालो गर्दै सामाजिक सद्भाव कायम राख्ने प्रयासमा जुटेका छन् । यद्यपि, घटनापछि उत्पन्न अशान्त वातावरणलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले कर्फ्यु जारी राखेको छ । मुख्य घटनास्थल कप्तानगन्जको रामचोकमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।
बजार खुल्न थाले पनि स्थानीयमा त्रास कायमै छ । गोली चलाउने निर्णयमाथि प्रश्न उठाउँदै पीडित पक्षले निष्पक्ष छानबिन र न्यायको माग दोहोर्याइरहेको छ । कप्तानगन्ज र आसपासका क्षेत्रमा तनाव कम भए पनि बजार पूर्ण रूपमा चलायमान भइसकेको छैन ।
संविधानसभा सदस्य रहिसकेका मुगालाल विजय मेहताले सामान्य झडप नियन्त्रणका लागि गोली चलाउनु आवश्यक नभएको दाबी गर्दै सरकारले पीडितलाई न्याय दिलाउनुपर्ने बताए । ‘हामी सबै मिलेर बसेका थियौँ । अझै पनि सद्भाव चाहन्छौँ,’ मेहताले भने, ‘सरकारले दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिएर समुदायलाई विश्वास दिलाउन आवश्यक छ ।’
स्थानीय मदरसाका मौलाना सलिम मियाँ र अगुवा तहसुल अन्सारीले आफूहरू सधैँ सामाजिक सद्भावको पक्षमा रहेको स्पष्ट पार्दै सरकारले डर र त्रासको वातावरण अविलम्ब अन्त्य गरिदिनुपर्ने माग गरेका छन् । तहसुल घटना भएपछि आफूहरू रातभरि त्रासले सुत्न नपाएको बताउँछन् । उनले सरकारसँग आग्रह गर्दै भने, ‘हामी सबै एउटै देशका हौँ । सबै मिलेर बसेका थियौँ र बस्छौँ । सरकारले त्रासको वातावरण चाँडै अन्त्य गराइदेओस् ।’ रास्वपा प्रदेश कमिटी सदस्य अमरेश मेहता प्रहरीले गोली नचलाई अन्य उपाय लगाएर स्थिति नियन्त्रणमा लिनुपर्नेमा त्यसो नगर्दा दुःखद घटना भएको र स्थानीय आक्रोशित बनेको बताउँछन् । ‘अब सरकारले तुरुन्तै गोली चलाउनेलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ अनि मात्र अवस्था शान्त हुन सक्छ,’ उनले भने ।
गत १० साउनमा बोलबम यात्राको तयारीका क्रममा डिजेबाजा बजाउने विषयमा विवाद भएपछि स्थिति हिंसात्मक बनेको थियो । अवस्था नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज– ३ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने नौजना सर्वसाधारण र १४ जना प्रहरी घाइते भएका थिए । घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव नेतृत्वमा समिति गठन गरिसकेको छ ।
सामाजिक सद्भाव कायम गर्न आठबुँदे निर्णय, कोशी प्रदेश सरकारले राहत दिने
कोशी प्रदेश सरकारले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताका परिवारलाई दुई लाख रुपैयाँ राहत तथा घाइते र आगजनीबाट प्रभावित परिवारलाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम गर्न आठबुँदे निर्णय पनि गरेको छ । निर्णयमा स्थानीय तहमा सर्वदलीय बैठक, सद्भाव यात्रा, जनचेतनामूलक कार्यक्रम सञ्चालन, धार्मिक समुदायको संयुक्त अपिल, सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाउने तथा प्रभावितलाई थप राहत उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गर्ने विषय समेटिएका छन् । यस्तै, घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा थप घटना पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय र सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरिएको छ ।
मुख्यमन्त्री कार्कीले संवेदनशील परिस्थितिमा सबै पक्षलाई संयम अपनाउन, अफवाह नफैलाउन तथा सामाजिक र धार्मिक सहिष्णुता जोगाउन आग्रह गरे ।