जिल्ला प्रहरी परिसर काठमाडौंले भन्सार छली गरी ल्याइएको ८३१ थान मोबाइल स्क्रिनग्लास बरामद गरेको छ। प्रहरीका अनुसार बुधबार बिहान करिब ११:३० बजे दक्षिणकाली नगरपालिका– ५, फर्पिङस्थित चेकपोइन्टमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ज १०४२ नम्बरको इभी गाडीलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले जाँच गरेको थियो।
जाँचका क्रममा कुनै पनि बिल–बिजक नभएको ८३१ थान मोबाइल स्क्रिनग्लास फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको सामानको अनुमानित मूल्य एक लाख ६६ हजार दुई सय रुपैयाँ रहेको छ।
प्रहरीले बरामद सामान आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।