कारको ठक्करबाट झापामा ९२ वर्षीया वृद्धाको मृत्यु

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

झापाको भद्रपुर नगरपालिका– ८ स्थित जिल्ला प्रशासन कार्यालयनजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।

प्रहरीका अनुसार कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१–०१–००२ च ०००५ नम्बरको सेतो कारले सडकमा निस्किँदै गरेकी भद्रपुर नगरपालिका– ९ निवासी ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कारचालकले नै सोही गाडीमा राखेर उपचारका लागि ओमसाई पाथीभरा अस्पताल पुर्याएका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनापछि खड्काको शव अस्पतालमै राखिएको छ। प्रहरीले दुर्घटनामा संलग्न कार र चालक झापा बुद्धशान्ति गाउँपालिका– २ निवासी ४६ वर्षीय मदन प्रसाईंलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार