सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझ ७ बजेतिरबाट हिंसा भड्किएको छ। रड, भाटा, लाठीलगायतका घरेलु हतियार बोकेका समूहले केही घर तथा पसलमा आगजनी गरी क्षति पुर्याएका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरी र सेनालाई निकै कठिन परेको थियो। करिब डेढ घण्टा भएको झडपपछि बल्ल स्थिति नियन्त्रणमा लिन सफल भएको सुनसरीका डिएसपी चन्द्रबहादुर खड्काले बताएका छन्। झडपमा के–कति क्षति भयो र कति मानिस हताहत भए भन्ने यकिन भइसकेको छैन। मंगलबार दिउँसो पनि देवानगन्जमा केही घरमा आगजनी भएको थियो।
हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका नाै स्थानीय तहमा मंगलबार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वर अर्यालका अनुसार दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु आदेश लागू हुनेछ।
सुनसरी प्रशासनले यसअघि मंगलबार दिउँसो साढे ३ बजेदेखि इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ दुई सय मिटर क्षेत्र, रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ दुई सय मिटर क्षेत्र तथा इनरुवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।
हिंसा थप भड्किन नदिन मंगलबार दिउँसो सशस्त्र प्रहरी र नेपाली सेनाले कडा गस्ती गरेका थिए। सेनाले हेलिकाेप्टरबाट समेत निगरानी गरेको थियो।
