सुखीपुर नगर अस्पतालका चिकित्सकले गरे २८ साउनसम्मको हाजिर

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

सिराहाको सुखपीपुर नगरपालिका- ८ सुखीपुरस्थित आधारभूत नगर अस्पतालका प्रमुख डा. लुस्युनकुमार यादवले २८ साउनसम्मको हाजिर गरेको पाइएको छ। डा. यादवले चालू आर्थिक वर्षको १२ साउन (मंगलबारसहित) २८ साउनसम्म दुई/ दुई दिन शनिबार र आइतबार बिदासमेत १६ दिनमध्ये १३ दिनको एकैपल्ट हाजिर गरेको पाइएको हो। उनले १२ साउनसहित अन्य दिनको हाजिरी मंगलबार नै गरेका हुन् वा त्यसअघि नै गरेका हुन् भन्ने विषयमा चाहिँ केही खुलेको छैन। 

सुखीपुर नगरपालिका प्रमुख रामऔतार यादवका छोरासमेत रहेका सुखीपुर १ घर भएका डा. यादवले साउन महिनाभरिको हाजिरी गरेको विषयमा प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहले आफू बैठकमा रहेकाले सबै कुरा थाहा नपाएको भन्दै केही बोल्न चाहेनन्। 

महिनाभरकै एकैदिन हाजिर गरेको विषयमा कुरा गर्न खोज्दा हाजिरी रजिस्ट्ररमा उल्लेख रहेको डा.यादवको मोबाइल नम्बर मंगलबार अपराह्न स्विच अफ गरिएको पाइएको छ। आधारभूत नगर अस्पतालका डा. यादव करार सेवाअन्तर्गत नवौँ तहमा कार्यरत छन्। 

जिल्ला प्रशासन कार्यालय सिराहाका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कर्मचारीले साउन महिनाभरिकै हाजिर गरेको विषयमा पालिकामार्फत हाजिरी रजिस्ट्रर झिकाएर कुरा गरिने बताए। 

त्यसअघि लहान नगरपालिका १७ गोविन्दपुर वडा कार्यालयमा कार्यरत अधिकृत छैटाैँ दर्जाका वडासचिव राजकुमार साहले १७ असार (बुधबार) देखि ३२ असारसम्म १६ दिनमध्ये दुई–दुई शनिबार र आइतबार गरी चार दिनको बिदा कटौती गरी १२ दिनको हाजिर एकैपल्ट गरेको पाइएको थियो । 

सुझावित समाचार