धनकुटाको फलामेटारमा ट्रक दुर्घटना भएर आगलागी हुँदा चालकको मृत्यु

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

धनकुटाको चौबिसे गाउँपालिका– ४, फलामेटारमा ट्रक दुर्घटना भएर आगलागी हुँदा चालकको मृत्यु भएको छ । तमोर–करिडोर सडकखण्डअन्तर्गत चौबिसे गाउँपालिका– ४, फलामेटारमा गएराति  ट्रकमा आगलागी भएको हो । 

विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावरको सामान बोकेर जाँदै गरेको प्र. १–०२–००१ क ५३६३ नम्बरको लोबेट (ट्रक) ब्रेकफेल भई सडकबाट चिप्लिएर नालातर्फको भित्तामा घस्रिएर अचानक आगलागी भएको थियो ।

दुर्घटनामा परेर ट्रकचालक भोजपुरका ३० वर्षीय विशाल राईको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । सो ट्रकका सहचालक तेह्रथुमको म्याग्लुङ नगरपालिका– ९ का १८ वर्षीय सञ्जीव संग्रौला भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

आगलागीबाट ट्रक पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटारबाट र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट एसपी नारायण रञ्जितकारको कमान्डमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा ट्रकमा लागेको आगो नियन्त्रणमा लिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

See More On

सुझावित समाचार