- बंगलादेशबाट ७१ टेस्ट, २४७ एकदिवसीय तथा १२९ टी–२० आई खेलेका सकिबलाई पहिलो विदेशी खेलाडीका रूपमा भित्र्यायो पोखराले
पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि बंगलादेशी अलराउन्डर सकिब अल हसनलाई अनुबन्ध गरेको छ । विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डर मानिने सकिबको आगमनपछि पोखरा थप मजबुत भएको महाप्रबन्धक अमित लोहनीले बताए । ‘सकिबजस्ता विश्वस्तरीय खेलाडीलाई पोखरा एभेन्जर्स परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ,’ सोमबार सकिबलाई अनुबन्ध गरेको बताउँदै लोहनीले भने ।
पोखराले सकिबलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो । गत साता पोखराले मुख्य प्रशिक्षकका रूपमा श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी बलापुवाडुगे मेन्डिस नियुक्त गरेको थियो । सकिबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी–२० लिगमा एकनाशको प्रदर्शन गर्दै आइरहेका छन् । उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रदर्शनले पोखराले तेस्रो सिजनको एनपिएलमा बलियो टोलीका रूपमा उपस्थिति जनाउने लोहनीले बताए ।
सकिबले भारतको इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्समा लामो समय बिताएका थिए । उनले सन् २०२४ यता राष्ट्रिय टोलीबाट खेलेका छैनन् । बंगलादेशमा नयाँ सरकार आएसँगै उनी पछिल्लो समयमा अमेरिकामा बस्दै आएका छन् । उनले बंगलादेशका लागि ७१ टेस्ट, २४७ एकदिवसीय र १२९ टी–२० खेल खेलेका छन् ।
३० भन्दा बढी फ्रेन्चाइजमा आबद्ध
४० वर्षीय सकिबले करिअरमा ३० भन्दा बढी फ्रेन्चाइज टोलीमा आबद्धता जनाइसकेका छन् । उनको करिअरमा नयाँ टोली फ्रेन्चाइज पोखरा बनेको छ । बंगलादेशका पूर्वकप्तानसमेत रहेका सकिबले १२९ टी–२० आईमा दुई हजार ५५१ रन बनाउनुका साथै १४९ विकेट लिएका छन् । उनले सबैखाले टी–२० मा गरी ४७८ खेल खेलेका छन् । यस फर्म्याटमा उनले सात हजार ८५३ रन जोडेका छन् । उनले टी–२० फर्म्याटमा ५१५ विकेट हात पारेका छन् । उनीसँग बिबिएल र सिपिएलजस्ता विश्व प्रसिद्ध लिग खेलेको अनुभव छ । आधुनिक क्रिकेटमा सकिबलाई टी–२० मा उत्कृष्ट अलराउन्डरका रूपमा लिने गर्दछन् । ‘सकिबको अनुभव, व्यावसायिकता र उत्कृष्ट अलराउन्ड प्रदर्शनले हाम्रो टोलीलाई मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि प्रेरणा दिनेछ,’ पोखराका महाप्रबन्धक लोहनीले भने, ‘विश्व प्रसिद्ध खेलाडीको आगमनमा नेपाल प्रिमियर लिगको आकर्षण पनि नयाँ उचाइमा पुग्ने विश्वास छ । आगामी सिजनमा उहाँसँग मिलेर उत्कृष्ट नतिजा हासिल गर्ने अपेक्षा गरेका छौँ ।’
मार्की खेलाडीमा कुशल
पोखराले तेस्रो एनपिएलका लागि मार्की खेलाडीका रूपमा कुशल भुर्तेललाई निरन्तरता दिएको छ । यसैगरी, सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको छ । विवेक रानामगर, सुदीप अर्याल, सन्नी बिके, विपिन आचार्य तथा प्रतीक पोखरेललाई अक्सनमार्फत पोखराले आबद्ध गरिसकेको छ । पोखरा एभेन्जर्सले आगामी दिनमा पनि उत्कृष्ट स्वदेशी तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको संयोजनमार्फत प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने जनाएको छ । नेपाली क्रिकेट समर्थकलाई अन्तर्राष्ट्रियस्तरका खेलाडीको खेल प्रत्यक्ष रूपमा हेर्ने अवसर प्रदान गर्ने क्लबको प्रतिबद्धतालाई पनि यस अनुबन्धले थप सशक्त बनाएको लोहनीले बताए ।