लुम्बिनीमा नयाँ सत्तासमीकरणः कांग्रेस पर्ख र हेरको स्थितिमा

मन्त्रीहरुको राजीनामा संसदीय दलमा होल्ड

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच बनेको नयाँ सत्तासमीकरणसँगै लुम्बिनी प्रदेशमा दलहरू आआफ्नो रणनीतिमा ब्यस्त रहेका छन् । नयाँ समीकरणसँगै कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले आइतबार नै पार्टी संसदीय दलमा राजीनामा बुझाएका भए पनि होल्ड गरिएको छ। आइतबार मुख्यमन्त्री प्रदेश राजधानीबाहिर रहेका कारण सोमबारसम्मका लागि होल्ड गरिएको भनिएको राजीनामा सोमबार पनि होल्ड नै गरिएको छ।

कांग्रेस संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालका अनुसार मन्त्रीहरूले आइतबार नै आफ्नो राजीनामापत्र दलको कार्यालयमा बुझाइसकेका थिए। मुख्यमन्त्री आइतबार प्रदेश राजधानीबाहिर रहेकाले सोमबार औपचारिक रूपमा राजीनामा बुझाइने तयारी गरिएको थियो । तर, कांग्रेसले प्रदेश तहमा पनि छलफल अगाडि बढाएसँगै राजीनामा होल्ड गरिएको ढकालले बताइन् । यति वेला कांग्रेस पर्ख र हेर को अवस्थामा छ,' उनले भनिन् ।

यता कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले प्रदेश तहमा राजनीतिक छलफल तीव्र पारेको बताएका छन् । सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यसँग छलफल गरेको भन्दै कांग्रेसले प्रदेश तहमा छलफललाई अगाडि बढाएको बताए ।
केन्द्रमा नया सत्तासमीकरणसँगै प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएपछि पार्टीभित्र मुख्यमन्त्रीको आकांक्षा राख्ने नेताहरू आन्तरिक छलफलमा केन्द्रित  छन्।

हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका चेतनारायण आचार्यलाई नै निरन्तरता दिने वा नयाँ नेतृत्व चयन गर्ने भन्ने विषयमा एमालेभित्र विभिन्न धारणा देखिएका छन्। मुख्यमन्त्रीको चर्चामा वर्तमान मुख्यमन्त्री आचार्यसँगै पूर्वमुख्यमन्त्री लीला गिरि र पूर्वमन्त्रीहरू भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठलगायतका नेताको नाम पनि अगाडि आएको छ ।

लुम्बिनी प्रदेशमा पछिल्लोपटक एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुँदै आएको थियो । २०८१ साउनमा सरकार गठन हुँदा एमाले र कांग्रेसबिच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको थियो । सोही सहमतिअनुसार केही महिनाअघि नै एमालेले नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्नुपर्ने अवस्था भए पनि सबै प्रदेशको सत्तासमीकरण एकैपटक टुंग्याउने भन्दै सहमति कार्यान्वयन हुन सकेको थिएन ।

तर, केन्द्रमा एमालेले कांग्रेससँगको सत्ता–सहकार्य अन्त्य गर्दै नेकपासँग नयाँ समीकरण बनाएपछि त्यसको प्रभाव लुम्बिनी प्रदेशमा पनि परेको हो । नयाँ राजनीतिक समीकरणसँगै प्रदेश सरकार पुनर्गठनको गृहकार्य तीव्र बनेको छ ।

लुम्बिनी प्रदेश सभाको अंकगणित

लुम्बिनी प्रदेश सभा हाल ८३ सदस्यीय छ । प्रतिनिधिसभामा निर्वाचित भएपछि चार प्रदेशसभा सदस्यले राजीनामा दिएका कारण सदस्य संख्या ८७ बाट घटेर ८३ पुगेको हो । सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ ।
हाल यहा एमालेका २९, कांग्रेसका २७, नेकपाका १३, राप्रपाका ४, जसपा नेपाल ३, जनमत पार्टी ३, जसपा २, राजमो १ र एक जना स्वतन्त्र सदस्य रहेका छन् । 

सुझावित समाचार