आसमान गोपाली हत्या प्रकरणमा आठजना पक्राउ

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

मकवानपुरको थाहा नगरपालिका– १० निवासी ४१ वर्षीय आसमान गोपालीको हत्या प्रकरणमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धानका क्रममा विभिन्न जिल्लाका आठजनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ का ४० वर्षीय कमानसिंह माझी, हेटौंडा उपमहानगरपालिका–१७ का २४ वर्षीय रविन प्रजा, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ की ३३ वर्षीया निरु तामाङ, उदयपुरको चौदण्डीगढी नगरपालिका–७ की ३१ वर्षीया मनीषा क्षेत्री रहेका छन्।

यस्तै, कैलाश गाउँपालिका–९ की २२ वर्षीया पार्वती ब्लोन, मनहरी गाउँपालिका–३ की ३४ वर्षीया राममाया थिङ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ की २२ वर्षीया मोनिका थिङ र ललितपुरको गोदावरी नगरपालिका–७ की ३५ वर्षीया आशिका लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको वास्तविक कारण र हत्यामा उनीहरूको संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक बयान लिने, घटनास्थलबाट संकलित प्रमाण, प्राविधिक विवरण तथा सिसिटिभी फुटेजका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आसमान गोपाली साउन १० गते बिहान हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालयनजिक मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमा रगतसमेत भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद मान्दै केनाइन (स्निफर डग) टोली परिचालन गर्नुका साथै विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाको अनुसन्धान जारी रहेकाले थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ। यदि पक्राउ परेकामध्ये कसैको संलग्नता पुष्टि भएमा उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

सुझावित समाचार