नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फारोह र नविन के भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। यही साउन २३ गते शनिबार ठमेलस्थित क्लब नोभामा ‘द रक लेगेसी’ लाइभ कन्सर्ट आयोजना हुने भएको हो।
स्मार्टजीको प्रस्तुतिमा आयोजना हुन लागेको कन्सर्टमा दुवै ब्यान्डले आफ्ना चर्चित तथा सदाबहार गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। कार्यक्रममा गेस्ट डीजे निशानको विशेष प्रस्तुति पनि रहनेछ।
यसपटक आयोजकले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोडेको छ। क्यान्सरसँग जुधिरहेकी रेखा गुप्ताको उपचारमा सहयोग पुर्याउने उद्देश्यले ई–सेवामार्फत बिक्री हुने प्रत्येक टिकटबाट १० प्रतिशत रकम सहयोग गरिने आयोजकले जनाएको छ।
कन्सर्टको व्यवस्थापन आवरण इभेन्ट्सले गरेको छ भने ई–सेवा टिकटिङ पार्टनर रहेको छ। टिकटको मूल्य सामान्य प्रवेशका लागि एक हजार र भिआइपी प्रवेशका लागि १५ सय रुपैयाँ निर्धारण गरिएको छ।