मकवानपुरको थाहा नगरपालिका– १० निवासी ४१ वर्षीय आसमान गोपालीको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले घटनास्थल आसपासको होटेलमा सोही दिन बसेका ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रारम्भिक अनुसन्धानमा आसमान एक पुरुष र एक महिलासँग होटेलमा बसेको खुलेको छ । घटनाको राति स्थानीयवासीले झगडा भएको र गुहार मागेको आवाज सुनेको जानकारी प्रहरीलाई दिएका छन् । त्यसलाई आधार बनाएर प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानलाई प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट स्निफर डग परिचालन गरिएको छ भने घटनास्थल आसपासका होटेल तथा सडकमा जडान गरिएका सिसिटिभी क्यामेराको फुटेजसमेत सूक्ष्म रूपमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।
आसमान गोपाली आइतबार बिहान हेटौँडा उपमहानगरपालिका– ११, थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालयनजिक मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमा रगतसमेत भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद मान्दै अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीका अनुसार हालसम्म घटनाको वास्तविक कारण खुलिसकेको छैन। नियन्त्रणमा रहेका व्यक्तिसँग सोधपुछ, प्राविधिक प्रमाण संकलन तथा अन्य प्रमाणको विश्लेषण भइरहेको छ ।