नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’ सोमबारदेखि सञ्चालनमा  आएको छ ।  सोमबार पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानिज राजदूत माएदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल अध्यक्ष मिजुकी मात्सुजाकीलगायतको उपस्थितिमा सुरुङमार्गको उद्घाटन भएको छ । 

 सुरुङमार्गको औपचारिक उद्घाटनसँगै निर्माणभन्दा बढी शिलान्यासका वेला राखिएको शिलालेखको विषय चर्चामा आएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले ०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्दा राखिएको, तर पछि हराएको शिलालेख खोजेर पुनर्स्थापना गर्ने घोषणा गरेका हुन्।

उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले शिलालेख हराउनु उचित नभएको उल्लेख गर्दै त्यसलाई खोजी गरी पुनः स्थापना गरिने बताए। ओलीको नामअंकित शिलालेख तोडफोड गरी हटाइएको भन्दै लामो समयदेखि विभिन्न राजनीतिक वृत्तबाट विरोध हुँदै आएको थियो।

नागढुंगा सुरुङमार्गको विकासक्रम भने विभिन्न सरकारसँग जोडिएको छ। यसको सम्भाव्यता अध्ययन ०६६/६७ मा झलनाथ खनाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेका वेला सुरु भएको थियो। ०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका वेला सम्पन्न भएको थियो। अहिले सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ।

सुझावित समाचार