पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची र नागोयामा हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छिन् । बाई पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउँदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जनाएका छन् ।
रेनु अहिले विश्व वरीयतामा २६औँ तथा एसियाली वरीयतामा १३औँ स्थानमा रहेको पारा तेक्वान्दो प्रशिक्षकसमेत रहेका तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् । गत वर्षको २१ देखि २८ मंसिरसम्म संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको एसियन युथ गेम्समा रेनुले के– ४४ क्याटेगोरीअन्तर्गत महिला ४७ केजीमुनि कांस्य पदक जितेकी थिइन् ।
उनले मलेसियामा भएको १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप, २०२५ तथा मंगोलियामा भएको ११औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप, २०२६ मा सहभागिता जनाएकी थिइन् । रेनुसँगै जापानमा हुने एसियाली पारा खेलकुदको पारा तेक्वान्दोमा हालसम्म दुई खेलाडीको सहभागिता पक्का भएको छ । यसअघि पलेसा गोवद्र्धन वरीयताका आधारमा छनोट भइसकेकी छिन् ।
पेरिस पारा ओलम्पिककी कांस्य पदक विजेता पलेसाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले पहिलो संस्करणदेखि नियमित भाग लिँदै आएको छ । एसियाली पारा खेलकुदमा पदक जित्ने पलेसा नेपालकी एक्ली खेलाडी हुन् ।