२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताम उत्कृष्ट गोलकिपिङ गरेका केप भार्डेका गोलरक्षक भोजिन्हा चिलीको प्रसिद्ध क्लब कोलोकोलोमा आबद्ध भएका छन् । ४० वर्ष पुगिसकेका अनुभवी गोलरक्षक भोजिन्हा विश्वकपमा सहभागी कुनै पनि शीर्ष डिभिजन क्लबसँग आबद्ध थिएनन् । विश्वकपमा चार खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको चर्चा एकाएक चुलिएको हो । फिफाले सर्वाजनिक गरेको ड्रिम इलाभेनमा समेत उनी गोलरक्षकको भूमिकामा रहे ।
कोलोकोलोका अध्यक्ष एनिबल मोसाले उनले छिट्टै चिलीको शीर्ष डिभिजन क्लबबाट खेल्ने बताए । यद्यपि, भोजिन्हा र कोलोकोलाबिचको सम्झौता रकम खुलाइएको छैन । तर, मोसाले विश्वकपका उत्कृष्ट गोलरक्षकलाई आफ्नो क्लबमा भित्र्याउन पाउँदा खुसी लागेको बताएका छन् । ‘भोजिन्हा अब कोलोकोलोका खेलाडी हुनेछन् । केही दिनमै उनी चिली आउनेछन्, स्वास्थ्य परीक्षण गर्नेछन् । त्यसपछि उनलाई रंगशालामा सार्वजनिक गरिनेछ,’ मोसाले भने ।
विश्वकपमा प्रतिस्पर्धा गर्नुअघि भोजिन्हा पोर्चुगलको दोस्रो डिभिजनको क्लब चाभेसबाट खेलेका थिए । तर, विश्वकपअगाडि नै उनको सम्झौता समाप्त भएको थियो । जसका कारण उनी क्लबविहीन थिए । विश्वकपको समूह चरणमा बलियो टोली स्पेनलाई गोलरहित बराबरीमा रोकेर उनी रातारात हिरो बने । अध्यक्ष मोसाले भोजिन्हाले विश्वकपमा देखाएको खेलकै कारण अवसर पाएको बताए । ‘विश्वकपमा पूर्वविजेतालाई गोल गर्न रोकेका भोजिन्हाको कौशलता हामीलाई थाहा छ । उमेरको कुनै प्रतिवन्ध छैन,’ मोसाले भने, ‘उनको आगमनमा क्लबको लोकप्रियता र ब्रान्डिङ सहज हुनेछ,’ उनले भने । कोलोकोलो अहिले चिलीको मुख्य लिगको शीर्ष स्थानमा छ ।
दोस्रो डिभिजनबाट शीर्षमा
विश्वकप खेल्ने दोस्रो सानो राष्ट्र केप भार्डेले अन्तिम ३२ को खेलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई कडा टक्कर दिएको थियो । सो खेलमा केप भार्डे अतिरिक्त समयमा ३–२ ले पराजित भयो । तर, अर्जेन्टिनाको जितभन्दा पनि भोजिन्हाको प्रदर्शनले नै चर्चा पाएको थियो । करिअरमा भोजिन्हाले स्लोभाकिया, अंगोला, माल्डोभा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट फुटबल खेलिसकेका छन् । विश्वकपमा उनको यसै लोभलाग्दो प्रदर्शनका कारण पनि केप भार्डेमा उनलाई एक नायकका रूपमा हेरिएको छ । कोलोकोलाका अध्यक्ष मोसाले विश्वकपका हिरोलाई प्रतिष्ठित क्लबमा आउन पूर्ण रूपमा हकदार भएको बताएका छन् । क्लबले सम्झौताका केही साना औपचारिक प्रक्रिया बाँकी रहेको जनाएको छ ।