एमबिएस प्रश्नपत्र सार्वजनिक गर्ने दोषीमाथि कानुनी कारबाही हुन्छ : शिक्षामन्त्री पोखरेल

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबिएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गरिने बताएका छन्।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले घटनामा संलग्न दुईजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको जानकारी दिए।

उनका अनुसार प्रश्नपत्र सार्वजनिक भएको सूचना प्राप्त हुनासाथ गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढाइएको थियो।

मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिने गरेको उल्लेख गर्दै यसपटक तत्काल कारबाही प्रक्रिया अघि बढाइएको बताए। सुशासनविरोधी गतिविधिमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही गरिने र घटनाको विस्तृत अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने उनले स्पष्ट पारे।

यसैबिच, प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

गत साउन ८ गते सञ्चालन भएको एमबिएस प्रथम सत्रको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

सुझावित समाचार