यसअघि ‘धोकेबाज’को आरोप–प्रत्यारोप गर्दै छुट्टिएको थियो ओली–प्रचण्डको सहकार्य

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

पाँच वर्षअघिको तितो विभाजन, दुई वर्षअघिको सत्तासहकार्यको विघटन र पछिल्लो निर्वाचनमा अप्रत्याशित पराजयपछि अन्ततः एमाले र नेकपा फेरि एकै ठाउँमा उभिएका छन् । प्रदेश सरकारबाट नयाँ राजनीतिक समीकरणको सुरुवात गर्दै एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार भक्तपुरको गुन्डुस्थित ओलीनिवासमा तीनबुँदे सहमतिमा हस्ताक्षर गरे।

सरकारमा सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्ने र ‘स्वर्ग र नर्क’सम्म सँगै जाने कसम खाएका र पछि धोका पाएका दुई नेता फेरि एकपटक सहकार्यका लागि तयार भएका छन् । एक–अर्कालाई धोका दिएको आरोप लगाउँदै आएका एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक प्रचण्ड अहिले फेरि एउटै राजनीतिक समीकरणमा उभिएका छन् ।

०७९ को निर्वाचनपछि करिब १८ महिना सरकारमा सहकार्य गरेका ओली र प्रचण्डबिच सम्बन्ध बिग्रिएपछि दुवैले एक–अर्कामाथि विश्वासघातको आरोप लगाएका थिए । खास गरेर प्रचण्डले पटक–पटक ओलीले आफूलाई प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेससँग मिलेको आरोप लगाउँदै आएका छन्। प्रचण्डका अनुसार १७ असार ०८१ मा बालुवाटारमा भएको भेटमा ओलीले ‘स्वर्ग गए पनि, नर्क गए पनि सँगै जाने’ र ०८४ को निर्वाचन पनि मिलेर लड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, त्यही दिन ओलीले कांग्रेससँग सातबुँदे सहमति गरेर आफूलाई धोका दिएको उनको दाबी छ । उक्त सहमतिपछि ओली २७ असार ०८१ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

भोलिपल्ट संसद्को बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूले ठुलो धोका पाएको गुनासो गरेका थिए । उनले भनेका थिए, ‘सरकारको गियर परिवर्तनका लागि यो बाटो ठिक छ भनेर ढुक्क भएँ । पछि थाहा भयो, त्यो त षड्यन्त्र रहेछ । केही मानिस षड्यन्त्र र कुण्ठाबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् भन्ने मैले सोचेकै थिइनँ । असार १७ गते बिहान ओलीजीले ‘स्वर्ग र नर्क जहाँ गए पनि सँगै जाने’ र ०८४ मा पनि सँगै चुनाव लड्ने कुरा गर्नुभयो । म त्यसमा पूर्ण रूपमा विश्वस्त भएँ । तर, अन्ततः उहाँले पछाडिबाट छुरा रोप्नुभयो।’

सुझावित समाचार