धनकुटाको साँगुरीगढी गाउँपालिका–२, मान्दवाटोलबाट लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले साँगुरीगढी–२, गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र सोही गाउँपालिका–३ मादेनका ३२ वर्षीय मदन याखालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।
गस्तीमा खटिएको प्रहरी टोलीले शिखर लिम्बूले चलाएको को २ ह १२५ नम्बरको अटो (टेम्पो) शंका लागि चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरामा लुकाएर लैजाँदै गरेको ७१ केजी ३५ ग्राम गाँजा फेला पारेको थियो।
गाँजा ओसार्न प्रयोग गरिएको अटोसहित अटोचालक शिखर लिम्बू र मदन याखाले प्रयोग गर्दै आएको प्र १–०४–००१ प ४७११ नम्बरको पल्सर मोटरसाइकल र उनीहरूले प्रयोग गर्दै आएको दुई थान मोबाइल बरामद गरिएको प्रहरीले बताएको छ। दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी भण्डारी क्षेत्रीले बताए।