कर्णालीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले आगामी मंगलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको छ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन १२ गते साँझ ५ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव हिरालाल चौधरीले बताए।

‘प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आह्वान गरेका हुन्,’ उनले भने, ‘शनिबार मुख्यमन्त्री यामलाल कँडेलको दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो।’

प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएका थिए। असार ३२ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका १६ जना सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

उनीहरूले नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन माग गरेका थिए। तर, केन्द्रमा नेकपा (एमाले) र नेकपाबिच सत्तासाझेदारी गर्ने सहमति भएसँगै अब नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।
 

सुझावित समाचार