अपराधको ‘हट डे’ सोमबार : ‘पिक आवर’ अपराह्न १२ देखि साँझ ६ बजेसम्म

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

काठमाडौंमा अपराध हुने सबैभन्दा ‘जोखिमपूर्ण दिन’ कुन होला ? धेरैको अनुमान शुक्रबार वा शनिबारतिर हुन सक्छ । तर, प्रहरीको तथ्यांकले भने फरक तस्बिर देखाएको छ । तथ्यांकअनुसार राजधानीमा सबैभन्दा धेरै अपराध सोमबार हुने गरेका छन् । र, अपराधको ‘पिक आवर’चाहिँ अपराह्न १२ देखि साँझ ६ बजेसम्म देखिएको छ ।

आर्थिक वर्ष ०८२/८३ मा काठमाडौंमा दर्ता भएका ११ हजारभन्दा बढी मुद्दामध्ये सबैभन्दा धेरै सोमबार दर्ता भएका छन् । गत आर्थिक वर्षमा काठमाडौं जिल्लाभरि ११ हजार ७८ वटा अपराध दर्ता भएकोमा दुई हजार २९८ सोमबार दर्ता भएका घटना छन् । यो कुल मुद्दाको २०.७४ प्रतिशत हो ।

दैनिक ३० वटा मुद्दा दर्ता हुने काठमाडौंमा शनिबार भने कम छन् । आर्थिक वर्ष ०८२/८३ मा शनिबार एक हजार १५५ वटा दर्ता भएका छन् । त्यस्तै, बुधबार एक हजार ७३९, मंगलबार एक हजार ५८५, बिहीबार एक हजार ६९३, शुक्रबार एक हजार १६६ तथा आइतबार एक हजार ४२७ मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले अघिल्ला वर्षमा बिदाको दिन धेरै अपराध दर्ता हुने गरेकोमा पछिल्लो वर्ष सोमबार धेरै देखिएको बताए । ‘एउटा शनिबार र आइतबारको बिदापछि धेरै उजुरी सोमबार आउने गरेकाले पनि त्यस्तो तथ्यांक आएको हुन सक्छ,’ उनी भन्छन्, ‘अन्य कारण के–के छन्, अध्ययनकै क्रममा छौँ ।’ 

त्यस्तै, १२ महिनामध्ये चैतमा सबैभन्दा धेरै एक हजार १६६ मुद्दा दर्ता भएका छन् । असोजमा ४०५ वटा मात्र मुद्दा दर्ता भएका थिए । जेन–जी आन्दोलनपछिको महिना भएकाले त्यस समयमा प्रहरीकै धेरै कार्यालय जलेका थिए । जसकारण प्रहरीले राम्रोसँग सेवा दिन सकेको थिएन । 

आन्दोलनअघिका महिनामा औसतमा हजारका दरले मुद्दा दर्ता भएका थिए । वैशाखमा एक हजार १४, जेठमा एक हजार १६०, असारमा एक हजार १२७, साउनमा एक हजार १५४ तथा भदौमा एक हजार ५७ मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ । 

गत वर्ष असोजमा अपराध घटेकामा कात्तिकदेखि फेरि बढ्न थालेको थियो । कात्तिकमा ६३३, मंसिरमा ७७१, पुसमा ९६२, माघमा ९७६ दर्ता भएका थिए । फागुनमा भने ६५३ मुद्दा दर्ता भएको परिसरले जनाएको छ । 

गत वर्ष फागुनमा निर्वाचन भएकाले सो महिना प्रहरी निर्वाचनमा केन्द्रित भएको थियो । निर्वाचनको समयमा अपराध पनि कम हुने गरेका छन् । आर्थिक अपराध तथा ठगीका उजुरी फागुनका पनि चैतमा दर्ता गर्न आएकाले धेरै अपराध देखिएको हुन सक्ने प्रहरी आकलन छ । 

समयको हिसाबले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म धेरै घटना भएका छन् । यो अवधिमा पाँच हजार ७५० घटना भएका छन् । त्यस्तै, साँझ ६ देखि राति १२ बजेसम्म दुई हजार ३५३, राति १२ देखि बिहान ६ बजेसम्म एक हजार ५९४ तथा बिहान ६ बजेदेखि अपराह्न १२ बजेसम्म एक हजार ४६१ घटना दर्ता भएका छन् ।

ओली र लेखकमाथि अनुसन्धान जारी’ 
जिल्ला प्रहरी परिसर, काठमाडौंले पूर्वप्रधानमन्त्री केपी ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान जारी रहेको जनाएको छ । हाजिरी जमानीमा छुटेका उनीहरूको हकमा प्रमाण संकलनको काम भइरहेको प्रहरीको भनाइ छ । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो मुद्दामा लास जाँच मुचुल्का तथा शव परीक्षणलगायत सम्बन्धित कागजातको अध्ययन, सिसिटिभी फुटेज संकलन एवं विश्लेषण, प्रत्यक्षदर्शी एवं घटना देख्ने थाहा पाउने व्यक्तिको कागजसमेतका अनुसन्धान भइरहेको जानकारी दिइएको हो । जेन–जी आन्दोलनमा दमन गरेको घटनामा जाँचबुझ आयोगको प्रतिवेदनअनुसार उनीहरू गत १४ चैतमा पक्राउ परेकोमा अदालतको आदेशमा २६ चैतमा हाजिरी जमानीमा छुटेका थिए । त्यस्तै, २३ र २४ भदौको घटनामा २४८ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । जसमध्ये ३९ वटा अनुसन्धानरत नै रहेको प्रहरीले जनाएको छ । 

५७ जना विदेशी महिला निष्कासित
काठमाडौं प्रहरीले पछिल्लो चार महिनामा मात्र ५७ जना विदेशी महिला पक्राउ गरी अध्यागमन विभागमार्फत निष्कासन गरेको छ । वेश्यावृत्तिलगायत गतिविधिमा संलग्न भएको आरोपमा युगान्डाका ३९, भियतनामका आठ, केन्याका चार, थाइल्यान्ड, बंगलादेश र इन्डोनेसियाका दुई–दुईजनालाई निष्कासन गरिएको एसपी भट्टराईले बताए ।

काठमाडौंमा सुरक्षाका १२ समस्या
प्रहरीले काठमाडौंमा सुरक्षाका १२ वटा समस्या पनि सार्वजनिक गरेको छ । चलायमान जनसंख्या भएकाले पहिचान, निगरानी र ट्र्याकिङमा समस्या रहेको, अव्यवस्थित आवासको तथ्यांक, भाडावाल, गेस्टहाउस र होस्टेलको विश्वसनीय तथ्यांकको अभाव रहेको प्रहरीले जनाएको छ । साइबर अपराधको वृद्धि, विदेशबाट सञ्चालित अपराधको डेटा एक्सेसमा समस्या, जेलबाट भागेका तथा लुटिएका हतियारबाट जोखिम पनि औँल्याइएको छ । 

त्यस्तै, एकीकृत डेटा प्रणाली नहुँदा पनि समस्या रहेको जनाइएको छ । अन्तरनिकाय समन्वयमा कमजोरी, ट्राफिक व्यवस्थापमा चुनौती, सिसिटिभीको अभाव, फरेन्सिक क्षमतामा कमी तथा साइबर र फरेन्सिकसम्बन्धी दक्ष जनशक्ति अभावलाई पनि प्रहरीले समस्या मानेको छ । एआईमा आधारित अफवाहले पनि सुरक्षा जोखिम बढाएको प्रहरीको भनाइ छ । 

यसैबिच, पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले जनअपेक्षाअनुसार प्रहरी सेवामा सुधार हुँदै गएको बताए । उनले जेन–जी आन्दोलनपछि सरकारको नीति र नागरिकको अपेक्षाअनुसार प्रहरी संगठनले आफ्नो कार्यशैली परिवर्तन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रयास गरिरहेको उनको भनाइ छ ।

‘जेन–जी आन्दोलनपछि सरकारको सोच र नागरिकको अपेक्षा सम्बोधन गर्न संगठनमा केही परिवर्तन र सुधार गर्नुपर्छ भन्ने लक्ष्य हो । प्रत्येक प्रहरी कर्मचारीको कार्यशैली, व्यवहार र जिम्मेवारीबोधमा परिवर्तन आए मात्र नागरिकले अपेक्षा गरेको गुणस्तरीय सेवा दिन सकिन्छ,’ उनले भने, ‘त्यसैअनुसार प्रहरीले नागरिकले खोजेजस्तो सुशासन सुनिश्चित गर्न सेवा प्रवाहमा कुनै पनि प्रकारको झन्झट, भनसुन वा आर्थिक चलखेल हुन नदिने नीति अवलम्बन गरेको छ ।’

दैनिक ३० अपराध : महाराजगन्ज क्षेत्रमा धेरै अपराध, दरबारमार्गमा कम 
काठमाडौंमा औसतमा दैनिक ३० अपराध प्रहरीमा दर्ता हुने गरेका छन् । गत वर्ष ११ हजार मुद्दामा आठ हजार ५८१ जनालाई पक्राउ गरिएको एसपी भट्टराईले बताए । सबैभन्दा धेरै बैंकिङ कसुरका चार हजार ४७१ मुद्दा छन् । त्यस्तै, अभद्र व्यवहारका एक हजार ७०२, चोरीसम्बन्धी एक हजार ८९, लागुऔषधका ६७०, ठगीसम्बन्धी ६३८ वटा मुद्दा दायर भएका छन् । त्यस्तै, एक वर्षमा प्रहरीले दुई हजार ४०७ जना फरार अपराधी पक्राउ गरेर अदालतमा पेस गरेको छ । समग्रमा भने कुल मुद्दाको संख्या गत वर्ष घटेको छ । अघिल्लो आर्थिक वर्षमा १२ हजार ९१५ मुद्दा दर्ता भएकोमा गत वर्ष एक वर्षमा ११ हजार ७८ वटा मुद्दा दर्ता भएका थिए ।

काठमाडौं परिसरमातहत मुद्दा चल्ने १४ वटा वृत्त छन् । जसमध्ये महाराजगन्ज वृत्तमा सबैभन्दा धेरै र दरबारमार्ग वृत्तमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन् । महराजगन्जमा एक हजार ३४९, बौद्धमा एक हजार एक सय, बालाजुमा ७८५, बानेश्वरमा ७७१, गौशालामा ६९३, कालीमाटीमा ६५१, लैनचौरमा ४३९, थानकोटमा ४३५, स्वयम्भूमा ४१७, जनसेवामा ४१५, कीर्तिपुरमा २६४, सिंहदरबारमा २५०, मालीगाउँमा २४५ र दरबारमार्गमा १४७ वटा मुद्दा दर्ता भएका छन् । 

गुन्डासहित १,८७१ को प्रोफाइल तयार 
गुन्डागर्दीमा संलग्न र पेसेवर अपराधमा पटके अभियुक्तको प्रहरीले विस्तृत प्रोफाइल तयार गरेको छ । १५ प्रकारका अपराधमा संलग्नको फोटोसहितको प्रोफाइल तयार गरिएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए । जसमा १,८७१ जनाको प्रोफाइल तयार गरिसकेको छ । यस्ता व्यक्तिलाई निगरानीमा समेत राखिएको प्रहरीले जनाएको छ । ‘यसमा गुन्डागर्दीमा संलग्न व्यक्ति पनि छन्,’ एसपी भट्टराईले भने, ‘अर्को सधैँ विरोधमा निस्किएर शान्ति सुरक्षामा समस्या ल्याउनेहरू पनि छन् ।’

See More On

सुझावित समाचार