पूर्वफुटबल खेलाडी भिक्टर जंगबहादुर राणाको अध्यक्षमा फुटबलर्स मिसन टुगेदरले नयाँ कार्यसमिति पाएको छ । शनिबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले राणाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति नै निर्विरोध पायो। नेपाली फुटबलको समग्र विकास, विस्तार र पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरूको हकहितका लागि क्रियाशील सामाजिक संस्था ’फुटबलर्स मिसन टुगेदर’ स्थापना भएको थियो।
लामो समयसम्म राष्ट्रका लागि खेल मैदानमा समर्पित पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडीहरूको सामूहिक पहलमा स्थापित यस संस्थाले आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव, दक्षता र खेलप्रतिको समर्पणलाई उपयोग गर्दै नेपाली फुटबलको जग मजबुत बनाउन निरन्तर योगदान पुर्याउँदै आएको छ।
नवनिर्वाचित कार्यसमितिमा राणासहित ११ कार्यसमिति नै निर्विरोध भएका हुन्। एक महिलासहित पाँच उपाध्यक्षमा विज्ञानराज शर्मा, निरञ्जनविक्रम राणा, सरिला श्रेष्ठ, उपेन्द्रमान सिंह र बिराटजंग शाह रहेका छन्। यस्तै, महासचिवमा धीरेन्द्र प्रधान निर्विरोध भए। कोषाध्यक्षमा वसन्तकुमार लामा र सह–कोषाध्यक्षमा कमला हिराचन निर्वाचित भएका हुन्। दुई सदस्यमा राजेश मानन्धर र दीपा क्षेत्री रहेका छन्।
यस्तै, खेलाडीको स्वास्थ्य सुरक्षाका लागि फुटबलर्स मिसन टुगेदरले स्पार्क हेल्थ होमसँग पनि सम्झौता गरेको छ। सम्झौताअनुसार खेलाडीले फिजियोथेरापी सेवामा ५० प्रतिशतसम्म तथा औषधि उपचारमा ४० प्रतिशतसम्म छुट पाउनेछन्। यसअघि साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष विशाल श्रेष्ठले गरेका थिए।