दुई वर्षपछि प्रशिक्षणमा फर्किँदै क्लोप

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण
  • लिभरपुललाई नौ सिजनमा ६ वटा उपाधि दिलाएका जर्गेन क्लोपले आगामी सन् २०३० को विश्वकपसम्म जर्मनीको राष्ट्रिय टोली हुने गरी जिम्मेवारी पाएका छन्

जर्गेन क्लोप जर्मन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । जर्मन फुटबल संघले शुक्रबार क्लोपलाई चार वर्षका लागि नयाँ प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो । क्लोप र संघबिच सन् २०३० को फिफा विश्वकपसम्म रहनेछ । क्लोप दुई वर्षपछि प्रशिक्षणमा फर्किएका हुन् । यसै साता अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा जर्मनीको खराब प्रदर्शन भएको थियो । जर्मनी राउन्ड अफ ३२ बाट बाहिरिएको थियो । 

विश्वकपमा जर्मनीको प्रशिक्षक बनेका युलियन लागेल्सम्यानले राजीनामा दिएपछि पद खाली थियो । तुलनात्मक रूपमा आफूभन्दा कमजोर पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि युलियनले नैतिक रूपमा पद छाडेका थिए । जर्मन फुटबल संघले अनुभवी प्रशिक्षकका रूपमा क्लोपलाई भिœयाएको जनाएको छ । क्लोपको नेतृत्वमा जर्मनीले आगामी २४ सेप्टेम्बरमा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्नेछ । क्लोपले दुई वर्ष कुनै क्लब सम्हालेनन् । यसअघि उनी इंग्लिस प्रिमियर क्लब लिभरपुलमा थिए ।

जहाँ उनले नौ सिजन बिताएका थिए । लिभरपुललाई उनले दुई दशकपछि युरोपियन च्याम्पियन्स लिगसँगै प्रिमियरको उपाधि दिलाउन सफल भए । क्लोपले सन् २०२३/२४ को अन्त्यतिर लिभरपुल छाडेका थिए । जर्मनका प्रशिक्षक बन्नुअघि उनी रेड बुल फुटबलका ‘ग्लोबल हेड’का रूपमा थिए । क्लबस्तरीय प्रशिक्षकका रूपमा क्लोप राम्रा मानिन्छन् । उनले जर्मन टोली बोरुसिया डर्टमन्ड र मेइन्जको पनि जिम्मेवारी सम्हालेका थिए । यसैगरी, क्लपको प्रशिक्षण टोलीमा पेप लिन्डर्स, पेटर क्रावियट्ज र स्भेन बेन्डर हुनेछन् । 

See More On

सुझावित समाचार