मुगुमा पहिरोमा पुरिएर तीन वर्षीय बालकको मृत्यु, बुवा-आमा घाइते

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

मुगुम कार्मारोङ गाउँपालिका-५ पालिका केन्द्र रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् ।शनिबार बिहान करिब ४ बजे स्थानीय पेमा लामाको भाडाको घरमा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पगाउँका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा बालकको मृत्यु भएको हो ।

पहिरोमा परी जगनाथ र सिर्जनालाई सामान्य चोट लागेको छ । उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । पहिरोमा पुरिएका बालकलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पुर्याए पनि चिकित्सकले बिहान करिब ५:४५ बजे मृत घोषणा गरेका थिए ।

करिव २ सय मिटर माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति पुगेको छ । घटनास्थल आसपासका थप आठ घर समेत उच्च जोखिममा रहेकाले ती घरमा बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रबीराज थपलियाले बताए । 

उक्त स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको  कमाण्डमा ७ जनासहित छायल प्रहरी चौकीबाट ६ जनाको टोली घटनास्थलतर्फ गैसकेको थपलियाले बताए ।

See More On

सुझावित समाचार