पौडी : शरीरलाई स्वस्थ राख्ने प्राकृतिक औषधि

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

गर्मी बढेसँगै धेरै मानिस पौडी खेल्न पोखरी वा जलाशयतिर आकर्षित हुन्छन् । स्विमिङ अर्थात् पौडी खेल्नु मनोरञ्जन मात्र होइन, शरीर र मन दुवैका लागि उत्कृष्ट व्यायाम हो । अन्य धेरै व्यायाममा जोर्नी, हड्डी वा मांसपेशीमा अतिरिक्त दबाब पर्ने सम्भावना हुन्छ । तर, पानीभित्र शरीरको तौल कम महसुस हुने भएकाले पौडी खेल्दा शरीरका जोर्नी र हड्डीमा अनावश्यक भार पर्दैन ।

पौडी खेल्दा हात, खुट्टा, ढाड, पेट, काँध र छातीका मांसपेशी एकैसाथ सक्रिय हुन्छन् । पानीको प्रतिरोधविरुद्ध शरीरले काम गर्नुपर्ने भएकाले मांसपेशीको शक्ति र सहनशीलता स्वाभाविक रूपमा बढ्दै जान्छ । विशेष गरी दौडिने वा अन्य खेल खेल्ने खेलाडीका लागि चोटपछि पुनः फिटनेस फर्काउने प्रभावकारी माध्यम पनि पौडी नै हो ।

पौडी खेल्दा शरीर विभिन्न दिशामा फैलिन्छ, घुम्छ, मोडिन्छ र तन्किन्छ । यसले जोर्नीको चलायमान क्षमता बढाउनुका साथै मांसपेशीलाई लचकदार बनाउँछ । नियमित पौडी खेल्ने व्यक्तिमा शरीरको सन्तुलन र समन्वय पनि राम्रो देखिन्छ । स्विमिङ उत्कृष्ट एरोबिक व्यायाम हो । यसले मुटुको कार्यक्षमता सुधार गर्छ, रक्तसञ्चारलाई प्रभावकारी बनाउँछ र रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । नियमित पौडी खेल्ने बानीले उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या तथा अन्य दीर्घरोगको जोखिम कम गर्न सहयोग पुग्न सक्छ ।

धेरैले तौल घटाउन दौडने वा जिम जाने गर्छन् । तर, पौडी पनि क्यालोरी खर्च गर्ने अत्यन्त प्रभावकारी माध्यम हो । पौडी खेल्ने शैली, गति, तौल र समयअनुसार क्यालोरी खर्च फरक–फरक हुन्छ । विशेष गरी तीव्र गतिमा पौडी खेल्दा छोटो समयमा पनि उल्लेखनीय ऊर्जा खर्च हुन्छ । त्यसैले तौल नियन्त्रण गर्न चाहनेका लागि पौडी राम्रो विकल्प हो ।

पौडी खेल्दा सास फेर्ने प्रक्रिया नियन्त्रित हुन्छ । यसले फोक्सोको क्षमता बढाउन मद्दत गर्छ । दम वा श्वासप्रश्वाससम्बन्धी समस्या भएका केही बिरामीलाई पनि चिकित्सकको सल्लाहअनुसार पौडी उपयोगी हुन सक्छ । यद्यपि, दमको समस्या भएका सबैले आफ्नो स्वास्थ्य अवस्था मूल्यांकन गरेर मात्र पौडी खेल्दा उपयुक्त हुन्छ । 

पौडी खेल्दा शरीरमा एन्डोर्फिनजस्ता फिल–गुड रसायनको उत्पादन बढ्न सक्छ, जसले तनाव कम गर्न र मनलाई शान्त बनाउन सहयोग गर्छ । पानीभित्र बिताएको समयले धेरैलाई ध्यान (मेडिटेसन) गरेजस्तै मानसिक शान्ति पनि दिन्छ । त्यसैले नियमित पौडीले चिन्ता, थकान र तनाव घटाउन सकारात्मक भूमिका खेल्न सक्छ ।

बालबालिकाको समग्र विकासमा सहयोग
नियमित पौडी खेल्ने बालबालिकामा शरीरको सन्तुलन, आत्मविश्वास र शारीरिक विकास राम्रो हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । साथै, प्रारम्भिक उमेरमै पौडी सिकेका बालबालिकामा पानीसँगको डर कम हुने र जीवनरक्षासम्बन्धी महत्वपूर्ण सिप पनि विकास हुन्छ ।

नियमित शारीरिक गतिविधि गर्ने मानिसहरू सामान्यतया बढी स्वस्थ र सक्रिय जीवन बिताउँछन् । पौडी पनि त्यही श्रेणीको प्रभावकारी व्यायाम हो । यसले मुटु, फोक्सो, मांसपेशी र मानसिक स्वास्थ्यलाई एकैसाथ फाइदा पुर्याउने भएकाले दीर्घकालीन रूपमा स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्छ ।

स्विमिङ स्वस्थ जीवनशैलीका लागि उत्कृष्ट व्यायाम भए पनि आवश्यक सावधानी अपनाउन नसके दुर्घटनाको जोखिम बढ्न सक्छ । प्रशिक्षकको निगरानीमा पौडी खेल्नु उपयुक्त हुन्छ । सधैँ सफा, नियमित रूपमा पानी परिवर्तन गरिने र उचित सरसफाइ भएको स्विमिङ पुल रोज्नुपर्छ । अत्यधिक भिडभाड भएका वा दूषित पानी भएका पुलमा छाला, आँखा तथा अन्य संक्रामक रोग सर्ने जोखिम बढी हुन्छ । त्यसैले स्विमिङपछि सफा पानीले स्विमिङ गर्नु आवश्यक छ ।

स्विमिङ गगल्स, क्याप र आवश्यक परे लाइफ ज्याकेटजस्ता सुरक्षा सामग्री प्रयोग गर्नुपर्छ । मदिरा सेवन गरेर वा बिरामी अवस्थामा पौडी खेल्नु हुँदैन । दीर्घरोग भएका व्यक्तिले चिकित्सकको सल्लाहपछि मात्रै स्विमिङ गर्नुपर्छ । बालबालिकालाई कहिल्यै एक्लै पानीमा छोड्नु हुँदैन । यदि मुटु, श्वासप्रश्वास वा अन्य दीर्घरोग छ भने पौडी सुरु गर्नुअघि चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

See More On

सुझावित समाचार