अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उपाधि जित्दा खेलाडीहरूले ट्रफी, पदक र आर्थिक पुरस्कार पाउनु सामान्य हो । भारतले एकदिवसीय र २०टी विश्वकप च्याम्पियन हुँदा आफ्ना खेलाडीलाई करोडौँको बोनस दिएको थियो । यस्तै किसिममा अन्य राष्ट्रले खेल क्षेत्रमा उत्कृष्ट नतिजा निकालेका खेलाडीलाई मालामाल गर्छन् । तर, यसै साता १६ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेका स्पेनिस खेलाडीहरूले फरक किसिमको उपहार पाएका छन् । फाबियन रुइज र गाभीले आफ्नै शरीरको तौलबराबर टमाटर उपहार पाएका छन् ।
विश्वकपको उपाधि दिलाउन योगदान दिएका मिडफिल्डरहरू आफ्नो जन्मथलो लोस पालासियोस इ–भिल्लाफ्रान्का फर्किएका थिए । सेभियाको दक्षिणमा रहेको यस सहरको जनसंख्या ४० हजारभन्दा कम छ । उनीहरूलाई स्थानीय अधिकारी र ठुलो संख्यामा उपस्थित समर्थकले भव्य स्वागत गरेका थिए । स्थानीय नगरपालिकाले खेलाडी सम्मानका लागि आयोजना गरेको विशेष कार्यक्रममा पेरिस सेन्ट जर्मेनका मिडफिल्डर फाबियन रुइज र बार्सिलोनाका गाभीले टमाटर उपहार पाउँदा अचम्म मानेनन् । सम्मान कार्यक्रमको विशेष आकर्षण उनीहरूलाई तौल मेसिनमा उभ्याएर सोहीबराबरको टमाटर उपहार दिने परम्परा थियो । जसअनुसार फाबियन रुइजले ८५ किलोग्राम टमाटर हात पारे । गाभीले ६८.५ किलोग्राम टमाटर पाएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार उत्कृष्ट खेलाडीलाई आफ्नै तौलबराबर टमाटर उपहार दिने परम्परा नगरपालिकाको पहिचान बनिसकेको छ । सन् २०१० मा स्पेनलाई पहिलो विश्वकप जिताउन योगदान दिएका पूर्वविंगर हेसुस नाभास पनि उपस्थित थिए । लोस पालासियोस् इ भिल्लाफ्रान्काबाट विश्वकप जित्ने पहिलो खेलाडी नाभास नै हुन् । यसअघि स्पेनले युरो २०२४ जित्दा पनि नाभास र रुइजले पनि यस्तै शैलीमा टमाटर उपहार पाएका थिए । गाभी र रुइजको नाममा नगरपालिकाले फुटबल मैदानहरूको नामकरण गर्ने घोषणा गरेको छ ।
फाइनल पुनः खेलाउन माग राख्दै ८२ हजारको हस्ताक्षर संकलन
अर्जेन्टिनाका समर्थकले २३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनल पुनः खेलाउनुपर्ने माग राखी हस्ताक्षर संकलन गरेका छन् । रेफ्रीका गलत निर्णयका कारण अर्जेन्टिना विश्वकप उपाधिबाट वन्चित भएको उनीहरूको दाबी रहेको छ । ८२ हजार अर्जेन्टिनी समर्थकले फिफामाथि दबाब बढाउन हस्ताक्षर संकलन गरेका छन् । गत आइतबार अमेरिकाको मेट लाइफ रंगशालामा स्पेनविरुद्धको फाइनलमा अर्जेन्टिना १–० ले पराजित भएको थियो । स्पेनिस खेलाडी फेरान टोरेसले अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए । उनकै गोलमा स्पेन दोस्रोपटक विश्व च्याम्पियन बनेको थियो । हस्ताक्षर संकलनको नेतृत्व गिसेला सान्चेजले गरेकी छिन् । उनले अहिलेसम्म ८२ हजार समर्थकले फाइनल खेल पुनः हुनुपर्ने माग राखेको बताइन् ।