नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले काभा च्याम्पियनसिपमा लगातार तेस्रो हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा आयोजक पाकिस्तानसँग नेपाल ३–० को सेटमा पराजित भयो । उपाधि दाबेदार घरेलु टोली पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० ले हरायो । पाकिस्तानले यसअघिका दुई खेल पनि सोझो सेटमा जितेको थियो । लगातार तेस्रो जितपछि पाकिस्तानले नौ अंक जोडेको छ ।
अब नेपालले बंगलादेश र उज्वेकिस्तानसँग बाँकी खेल खेल्नेछ । एक दिनको विश्रामपछि नेपालले बाँकी खेल खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जित निकाल्नुपर्नेछ ।
नेपालले यसअघिका दुवै खेल पाँचौँ सेटमा पुगेर गुमाएको थियो । नेपालले पहिलो खेलमा काजकिस्तानविरुद्ध एक अंक खोसेको थियो । लगातार दुई सेट गुमाएको नेपालले त्यसपछि कमब्याक गर्दा पाँचौँ सेटमा पुगेर पराजित भएको हो । बिहीबार भएको दोस्रो खेलमा नेपालले पुनः श्रीलंकासँग एक अंक खोस्यो । श्रीलंकाविरुद्ध नेपाल २–१ को सेट गुमाउन पुगेको थियो ।