लुम्बिनी प्रदेशमा झन्डै ८९ प्रतिशत धान रोपाइँ सकिएको छ। शुक्रबारसम्मको तथ्यांकअनुसार प्रदेशभर दुई लाख ६८ हजार १९७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठका अनुसार पछिल्लो अध्यावधिक विवरणअनुसार प्रदेशमा धान रोपाइँ हुने कुल तीन लाख एक हजार ३७२ हेक्टरमध्ये ८८.९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
जिल्लागत विवरणअनुसार रोल्पा र रुकुम (पूर्व)मा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ। त्यसपछि पाल्पामा ९३ प्रतिशत, नवलपरासी (पश्चिम)मा ९८.५ प्रतिशत, रुपन्देही र प्युठानमा ९८/९८ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ। यस्तै बर्दियामा ९७ प्रतिशत, अर्घाखाँचीमा ८८ प्रतिशत, गुल्मी र बाँकेमा समान ८४ प्रतिशत, दाङमा ८० प्रतिशत तथा कपिलवस्तुमा ७७.५ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ।
प्रदेशमा कुल ६ लाख ७९ हजार ६९३ हेक्टर खेतीयोग्य जमिन छ। त्यसमध्ये करिब तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्र धानखेतीका लागि उपयुक्त मानिएको छ।