उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा दुवै पक्षबिच शुभकामना आदान–प्रदानसँगै नेपाल–स्विट्जरल्यान्ड द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे छलफल भएको थियो।
उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्विट्जरल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको सम्बन्ध सधैँ सौहार्दपूर्ण, मैत्रीपूर्ण र सहयोगात्मक रहँदै आएको उल्लेख गरे । उनले उच्चस्तरीय भ्रमणहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन र नयाँ गति दिन महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै नेपालको शान्ति प्रक्रियामा स्विस सरकारबाट प्राप्त निरन्तर सहयोग र सदभावप्रति आभार व्यक्त गरे ।
उनले स्विस विकास तथा सहयोग नियोग (एसडिसी)ले नेपाललाई आफ्नो प्राथमिकतामा निरन्तर राखेकोमा खुसी व्यक्त गर्दै भूकम्पपछिको पुनर्निर्माण, झोलुंगे पुल निर्माण, रोजगारी सिर्जना तथा प्राविधिक सहयोगजस्ता कार्यक्रममार्फत जनस्तरमा प्रत्यक्ष लाभ पुगेको उल्लेख गरे । साथै, आगामी दिनमा नेपाल–स्विट्जरल्यान्ड सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी, महामहिम राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले नेपाल र स्विट्जरल्यान्डबिचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै स्विस सरकार नेपालको उद्योगलगायतका क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए ।
शुक्रबार सम्पन्न उक्त भेटले नेपाल–स्वीट्जरल्याण्डबीचको दीर्घकालीन मित्रता, विकास साझेदारी र आर्थिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।