विपत् प्राधिकरणको कार्यकारी प्रमुखमा डा. उप्रेती

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

सरकारले  राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखमा डा. धर्मराज उप्रेतिलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को ६ साउनको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुखमा नियुक्त भएका उप्रेतिले शुक्रबार पदभार ग्रहण गरेका छन्।

जलवायु विपत्विज्ञ रहेका उप्रेति पाँच वर्षे कार्यकालका लागि नियुक्त भएका हुन्। ०७६ मा स्थापना भएकाे प्राधिकरणमा यसअघि अनिल पोखरेलले पाँच वर्षे कार्यकाल पूरा गरेपछि इन्जिनियर दीनेश भट्ट कार्यकारी प्रमुख बनेका थिए। तर, सरकारले गत वैशाखमा राजनीतिक नियुक्ति अध्यादेशमार्फत् खारेज गरेपछि उनी पनि पदमुक्त भएका थिए।

खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्त भएका उप्रेतिले पदभार ग्रहण गर्दै जाजरकोट भूकम्पबाट क्षतिग्रस्त आवास पुर्निर्माण प्रक्रिया सुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। ‘तीन वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना र निजी आवास पुनर्निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘शुक्रबारबाट जाजरकोटबाट १८८ घर पुनर्निर्माणका लागि सिफारिस भएर आएको छ । यी घर पुनर्निर्माणसँगै क्षतिको विस्तृत आकलनसहितका काम अगाडि बढाउनेछु ।’ यसबाहेक डोटी र बझाङ भूकम्प तथा रोशी र इलाम बाढीपहिरोबाट भएको क्षतिग्रस्त संरचना पुनर्निर्माण आफ्नो प्राथमिकता रहेको उप्रेतिले बताए। 

दोस्रो प्राथमिकता पूर्वसूना प्रणालीलाई अझ व्यवस्थित र ७५३ वटै पालिकामा पु¥याउने लक्ष्य रहेको उनले नयाँ पत्रिकालाई सुनाए । ‘पूर्वसूचना प्रणाली अझ सुधार गर्नुपर्नेछ । सबैलाई पूर्वसूचना प्रणाली परिभाषा अनुसार काम हुनेछ,’ उनले भने। 

त्यस्तै, नेपालमा हरेक सिजनमा फरकफरक विपत् रहने भएकाले विपत्पिच्छेकै समाधानमा काम गर्नुपर्ने उनले बताए। ‘कुन पालिकामा के को जोखिम छ भनेर ७५३ को तथ्यांक राट्रिय अभिलेखमा ल्याउने लक्ष्य छ,’ उनले भने, ‘यसले हानिनोक्सानी कोषमा दाबी गर्न सजिलो हुनेछ ।’  सडकसहित पूर्वाधार जलवायु मैत्री हुनुपर्ने उल्लेख गर्दै उनले विपत् व्यवस्थापनमा प्राधिकरणले सरोकारवाला मन्त्रालय, निकाय, विभाग, तीन तहकै सरकार र  अन्तर्राट्रिय दातृ निकायसँग सहकार्य गर्ने उल्लेख गरे ।

सुझावित समाचार