सप्तकोशीको कटानले श्रीलंका टापु संकटमा, अस्थायी तटबन्ध बनाइँदै

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

सप्तकोशी नदीको पश्चिमी किनारमा तीव्र कटान बढ्दै जाँदा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण कार्यलाई तीव्र बनाएका छन्। कटानका कारण स्थानीय बस्ती, खेतीयोग्य जमिन तथा भौतिक संरचनामा जोखिम बढेपछि स्थानीय समुदाय, सुरक्षा निकाय र सम्बन्धित निकायहरू परिचालन भएका छन्।

दुई पालिकाले संयुक्त रूपमा स्थानीय स्रोत–साधन प्रयोग गर्दै बोरामा माटो भरेर नदी किनारमा राख्ने कार्य गरिरहेका छन्। अभियानमा स्थानीयवासी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका छन्।

कटान प्रभावित क्षेत्रमा बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्की र बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की पुगेर स्थलगत अनुगमन गर्दे बाँध बनाउने काम तीव्र बनाइएको बेलकाका नगरप्रमुख कार्कीले जानकारी दिए। उनले भने, ‘स्थानीयवासी, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गर्दै कटान नियन्त्रण र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउने योजनाका साथ हाल अस्थायी तटबन्ध बनाउने काम जारी छ।’

मेयर कार्कीका अनुसार कोशी बराहा नदी नियन्त्रण आयोजनामार्फत पहिलो चरणमा पाँच हजार पाँच सय थान बोरा र ७० थान डोरीजाली उपलब्ध गराइएको छ। थप ३० हजार थान बोरा तथा आवश्यक डोरीजाली पनि उपलब्ध गराइने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले तत्कालीन नियन्त्रणका उपायसँगै दीर्घकालीन समाधानका लागि प्रदेश सरकार, नेपाल सरकार तथा सम्बन्धित निकायसँग स्थायी तटबन्ध निर्माणको माग गर्दै निरन्तर पहल गरिरहेको जनाएको छ।

श्रीलंका टापुमा बढ्दो संकट, ६ सय परिवार जोखिममा
सप्तकोशीको तटीय क्षेत्रमा पर्ने श्रीलंका टापुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– ६ र ९ नम्बर वडा तथा बेलका नगरपालिकाका १, २ र ३ पर्छन्। सोही क्षेत्रका सप्तकोशी नदीले पछिल्लो एक सातादेखि तीव्र कटान गरिरहेको छ। चिलैया र गरैया क्षेत्रमा नदीले दैनिक जमिन बगाउन थालेपछि करिब ६ सय घरपरिवार प्रत्यक्ष जोखिममा परेका बेलकाका नगरप्रमुख कार्कीले जानकारी दिए। उनले भने, ‘सप्तकोशी बेलका– ८ मा पर्ने क्षेत्रमा बाँध बाँधेपछि कटान रोकिएको छ। तर, तल तल्लो क्षेत्रमा जारी छ। जसकको कारण जोखिम बढेको छ।’

गत हिउँदमा टापु संरक्षणका लागि निर्माण गरिएका तारजालीका बाँध पनि हाल डुब्न थालेका छन्। नगरप्रमुख कार्की भन्छन्, ‘पूर्व सुनसरीको क्षेत्रबाट बगेको सप्तकोशी नदी अब धार परिवर्तन गरी पश्चिमतिर उदयपुर फर्कन खोजेको देखिन्छ। जुन क्षेत्रमा हाल ठुलो मानव बस्ती छ। यता फर्कँदा ठुलो दुःख दिन्छ।’

स्थानीय भीम राईका अनुसार असारदेखि सामान्य कटान सुरु भए पनि अहिले नदीको बहाव पर्ने क्षेत्रमा दैनिक पाँचदेखि १० मिटरसम्म जमिन कटान भइरहेको छ। बलौटे माटो भएकाले नदीले जमिन तीव्र रूपमा बगाइरहेको र संरक्षणका लागि राखिएका ढुंगासहितका तारजालीसमेत नदीमा डुब्दै गएको उनले बताए।

सप्तकोशी नदीले करिब पाँच दशकअघि धार परिवर्तन गरेपछि श्रीलंका  टापु बनेको थियो। हाल सुनसरीको बराहक्षेत्र नगरपालिका– ६ र ९ तथा उदयपुरको बेलका नगरपालिका– १, २ र ३ मा फैलिएको छ। यहाँ तीन हजारभन्दा बढी जनसंख्या छ।

स्थानीयका अनुसार प्रत्येक वर्ष दोहोरिने कटानले खेतीयोग्य जमिनसँगै बस्तीसमेत जोखिममा पर्दै आएको छ। गत वर्ष केही परिवारले घर नै सुरक्षित स्थानमा सार्नुपरेको थियो। यस वर्ष पनि कटान झन् तीव्र बन्दै गएपछि स्थानीयमा त्रास बढेको छ।
 

सुझावित समाचार